
नेपाल धागो उत्पादक सङ्घको आयोजनामा स्वदेशमा बनेका विभिन्न तयारी पोशाकको प्रवद्र्धन गर्न आज बिहीबारदेखि भृकुटीमण्डपमा ‘नेपाल यार्न एन्ड टेक्सटाइल एक्स्पो २०१९’ शुरु भएको छ ।
‘स्वदेशी लगाऔं स्वदेशी बनौ’ भन्ने नारा सहित शुरु भएको मेलाको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गरे ।
मेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा खतिवडाले सरकारले कृषि उद्यमीलाई रु पाँच करोडसम्मको ऋणमा पाँच प्रतिशत ब्याज अनुदान उपलब्ध गराएको बताए।

व्यवसायीको संरक्षण सरकारले गर्ने बताउँदै उनले कपास, रेशा, तथा धागोजन्य वस्तु एकापसमा सह–सम्बन्धित रहेका कारण त्यस्ता उत्पादनमा उद्यमीलाई विद्युत्मा सहुलियत, आयकर तथा ब्याजमा छुटको व्यवस्था गरिएको बताए ।
उनले भने, “यसरी सह–सम्बन्धित रहेका विभिन्न उत्पादनलाई मूल्य श्रृङ्खलामा ल्याउनुपर्छ, मूल्य अभिवृद्धि करले चोरी पैठारी नियन्त्रणमा सहयोग तथा उपभोक्तालाई लागत थपेको छ ।”
स्वदेशी उत्पादनको खपतलाई वृद्धि गर्ने गरी सार्वजनिक खरीद ऐन संशोधनको अन्तिम तयारीमा भइरहेको बताउँदै मन्त्री खतिवडाले सरकारले उपभोग्य सामग्रीमा अनुदान नदिने प्रष्ट पारे। बुटवल धागो उद्योग कम्पनी निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिन लागेको उनको भनाइ थियो ।
सङ्घका अध्यक्ष पवनकुमार गोयलले टेक्सटाईल क्षेत्रले करीब १० लाखलाई रोजगार दिएको जानकारी दिँदै दक्ष जनशक्तिको अभाव रहेको उक्त क्षेत्रको विकासका लागि बोर्ड गठन गर्न माग गरे । मेला यही असोज ६ गतेसम्म चल्नेछ ।
पछिल्लो समय व्यापार घाटा बढ्दै गएको बेला करीब रु ११ अर्ब बराबरको धागो निर्यात भएको छ । मेलामा चार उत्पादन कम्पनीले रु १५ अर्बको धागो उत्पादन गरेकामा रु चार अर्बको मात्र स्वदेशमा खपत भएको जानकारी दिएको छ ।








प्रतिक्रिया