शनिबार, २२ फागुन २०७७

पुँजी बढ्यो भनेर आजको भोलि नै नाफा हुन्छ भन्ने सोच गलत हो

समयपोष्ट २०७४ भदौ २८ गते ४:१३

एनबी बैङ्कको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

हामीले करिब ४४ अर्बको निक्षेप, ३७ अर्बको कर्जा लगानी र १ अर्ब २ करोडको खुद नाफा आर्जन गरेका छौँ । भर्खरै मात्र ८ प्रतिशसत राइट सेयर इस्यु गरेपछि हाम्रो क्यापिटल हेडको पोजिसन पनि एकदमै राम्रो छ । करिब १५ प्रतिशतभन्दा माथि छ । वित्तीय अवस्थाको रूपमा नेपाल बङ्गलादेश बैङ्क एकदमै सुदृढ छ ।

पुँजी बढाएर नाफा गर्ने सुरुवाती चरणमै लगानीयोग्य रकम अभाव देखियो, यसले नाफामा कत्तिको असर गर्यो?

Advertisement

पक्कै पनि विगत करिब चार–पाँच महिनाको अवस्था हेर्ने हो भने निक्षेपको वृद्धिदरमा आएको कमीले गर्दा सीसीडी रेसियो मेन्टेन गर्न बैङ्कहरूलाई गाह्रो भयो ।  त्यसले गर्दा हामीले कर्जा लगानीमा केही सङ्कुचन ल्याउनुपर्ने अवस्था ल्यायो । यसले सेयर पुँजी ८ प्रतिशतले बढ्ने भयो । ८ अर्ब पुग्ने भयो तर प्रतिफलको हिसाबले त्यो पनि प्रतिशतमा हेर्ने हो भने घटेको देखिन्छ । तपाईंले एब्सुलुट अमाउन्टमा हेर्नुभयो भने घट्दैन । अघिल्लो वर्ष ३२ प्रतिशत दिएको यस वर्ष १५ प्रतिशत होला । पुँजी पनि डबल भएको छ । त्यो हिसाबले प्रतिशतमा हेर्दा कमी देखिए पनि आगामी आर्थिक वर्षदेखि नर्मल भएर जान्छ ।

gyandra dhungana 1

बढेको पुँजी अनुपातमा सेयरधनीहरूलाई प्रतिफल दिने चुनौती के देख्नुहुन्छ ?

पुँजी बढ्यो भनेर जथाभावी लगानी गर्न थालियो भने जोखिम बढ्ने हो । तर अहिलेको अवस्था त्यस्तो छैन । पुँजी बढे तापनि पहिलो वर्ष नहोला, दोस्रो–तेस्रो वर्षदेखि स्वाभाविक रूपमा वृद्धि भएको कर्जाले पनि रिटर्न दिन पुगिहाल्छ । त्यस कारण हामी हतार गर्दैनौँ । लगानीकर्ताले त धैर्य गर्नकै लागि सेयरमा लगानी गरेको हो । आजको भोलि नै नाफा हुन्छ भन्ने सोच त गलत हो । हतार गरेर आजै लगानीकर्तालाई प्रतिफल दिने गरी जोखिम मोलेर कर्जा लगानी गर्दैनौँ । कर्जाको माग पनि हुनुपर्यो । नेपाल राष्ट्र बैङ्कले तोकेका क्षेत्रहरूमा सिफारिस गरेको हिसाबले जान पनि पर्यो । त्यो हिसाबले आगामी एक वर्षभित्रमा त्यो प्रतिफलमा हामी पुग्न सक्छौँ ।

यहाँहरुले निक्षेपको व्याजदर बाह्र प्रतिशतसम्म पुर्याउनुभयो, तर डिपोजिटरले बैकमा पैसा त खासै ल्याएनन्, मान्छेहरु अव ब्याजको लोभमा पर्न छोडेका हुन ?

सम्पूर्णरूपमा देशकै निक्षेप कति छ, बैङ्कहरूले व्याजदर बढाउँदैमा निक्षेप त्यसै बढ्ने होइन । एउटा बैङ्कको निक्षेप अर्को बैङ्कमा लाने मात्रै हो । त्यो भएपछि एउटा बैङ्क त समस्यामा हुन्छ । त्यस कारण अस्वस्थ प्रतिस्पर्धा नगरौँ भन्ने हामीले सल्लाह गर्यौं।  तर नेपाल राष्ट्र बैङ्कले व्यक्तिगत निक्षेपको व्याजदर बढोस् भन्ने चाहना र व्यक्तिगत निक्षेपकर्ताले इन्फेल्सनभन्दा कम व्याजदर पाए भन्ने पुरानो गुनासोले गर्दा हामीले क्रमिकरूपमा निक्षेपमा व्याजदर बढाएको हो तर यसले गर्दा संस्थागत निक्षेपको व्याजदर बढ्यो । त्यसले गर्दा लागत बढ्नेबित्तिक्कै कर्जामा व्याजदर पनि बढ्यो । त्यस कारण यी कुराहरूलाई एउटा व्यालेन्समा कसरी राख्ने ? कर्जाको पनि निश्चित प्रतिशतभन्दा नबढोस्, निक्षेप निश्चित प्रतिशसतमा जाओस् भनेर राष्ट्र बैङ्कले इन्टरेष्ट रेट कोरिडोरको कल्पना गरेर ल्याएको छ । सुरुको अवस्था भएको हुनाले केही बढी बढेको जस्तो देखिन्छ । धेरै बैङ्कहरूको बेस रेट अहिले हेर्ने हो भने दश प्रतिशतभन्दा बढी देखिन्छ । भनेपछि अवश्य पनि लगानी गर्नुपर्यो भने बाह्रभन्दा घटीमा पाइँदैन । तर यसले कर्जाको लागत बढ्छ । भोलि उत्पादनको लागत बढ्छ । त्यसले गर्दा कर्जाको माग कम हुन सक्छ । त्यो पक्षलाई पनि हेरेर हामीले क्रमिक रूपमा यसलाई सुधार गरेर लगिरहेका छौँ ।

gyandra 2

 सरकारको बजेट पनि आइसक्यो । बैङ्कहरूमा पैसा पनि आउन थाल्यो, अब बढेको व्याजदर घट्ला ?

त्यो लक्षण देखिसकिएको छ । निक्षेपमा विगत एक–दुई हप्तादेखि फ्लो राम्रो देखिइरहेको छ । त्यस कारण निक्षेपमा व्याजदर क्रमिक रूपमा घटिरहेको छ । बाह्रबाट एघार, एघारबाट दशको हाराहारीमा आइसकेको छ । कर्जामा करिब–करिब एक–डेढ महिनाको ल्याकपिरियड हुँदो रहेछ । हामी अझै एक–दुई हप्ताको पोजिसन हेर्छौं । त्यसपछि अब आउने क्वाटरमा पक्कै पनि आश्विनदेखि व्याजदर घट्ने देखिन्छ ।

 बैङ्कहरूमा पैसा ल्याउने सरकारी कोषबाहेक अरू विकल्प छैनन् ?

निक्षेप कसरी बढ्छ भन्ने कुरा इकोनोमीको साइज नै बढेको छ । त्यसले केही क्रिएसनहरू बढाएर लैजान्छ । सरकारले पनि समयमै खर्च गरिदियो भने यो पैसा रोटेसन हुने हो । फेरि आउने–जाने हो, त्यसले निक्षेप वृद्धि हुन्छ । रेमिट्यान्सको वृद्धिको दरले निक्षेपको वृद्धि दरमा फरक पार्छ । अहिलेसम्म पनि करिब ६ प्रतिशत जनता बैङ्किङ पहुँचमा पुगेका छैनन् भनिन्छ । धेरै मानिसहरूले इन्फर्मल सेक्टरबाट काम गरिरहेका छन् ।  घरमै पैसा राखिरहेका छन् । त्यस्ताहरूलाई ट्याब गरेर निक्षेप वृद्धि गर्न सकिन्छ । धेरै उपायहरू छन् । सायद यो सालको मनिटरी पोलिसीले केही लक्ष्य लिएको छ ।  जस्तो– तपाईंले नयाँ खाता खोल्नुभयो भने यति खाता खोलेपछि यति अनुदान दिने भन्ने योजना छ । त्यसले पनि निक्षेपमा वृद्धि गर्छ भन्ने सोचेका छौँ ।

 नेपाल बैङ्कर्स सङ्घबाट  स्थानीय निकायमा शाखा खोल्ने खाका बुझाइसक्नुभएको छ । तपाईंको बैङ्कको कहाँ–कहाँ शाखा खोल्ने तयारी छ ?

नेपाल सरकारले नै ७४४ स्थानीय तहमा ‘क’ वर्गको कमर्सियल बैङ्क हुनुपर्छ भन्ने किसिमको नीति लिएको र त्यहीअनुसार नेपाल राष्ट्र बैङ्कले पनि हामीहरूलाई निर्देशन दिएको हो । ७४४ मा फेरि नौवटा थपिने भयो । भनेपछि ७५३ वटा हुने भए । त्यसमध्ये २ सय ४ वटामा बैङ्क छैनन् । ती क्षेत्रमा कसरी जाने भनेर नेपाल बैङ्कर्स सङ्घ र नेपाल राष्ट्र बैङ्कसँग धेरै पटक छलफल भयो । बैङ्कको शाखा खोल्न कम्तीमा तीन–चारवटा कुराहरू हामीले माग गरेका छौँ । ठूला कुरा छैनन् । यातायात, विद्युत्, इन्टरनेट र शान्ति सुरक्षाको लागि प्रहरी चौकीको कुरा गरेका छौँ । प्रहरी चौकी स्थानीय तहमा भई नै हाल्छ । यी कुराहरू भए भने हामी बैङ्कको शाखा खोल्न सक्छौँ । यी चिजहरू पुगिसकेको करिब–करिब २ सय ५ जटा ठाउँमा हामी तुरुन्त खोल्छौँ भनेर नेपाल राष्ट्र बैङ्कलाई बुझाइसकेका छौँ । तर केही स्थानीय निकाय यस्ता दुर्गममा छन् कि चार–पाँच दिन हिँडेर जानुपर्ने जहाँ इन्टरनेट, मोटरबाटो, बिजुली केही छैन । त्यसमा के कसरी खोल्ने हो भन्ने कुरा अझै पनि छलफलमै छ । अब अहिले वर्षाका कारण हामी जान सकिरहेका छैनौँ । त्यसमा के–कसरी खोल्ने हो भन्ने अझै छलफलमै छ । वर्षा सकिनेबित्तिक्कै २ सय ५ वटा ठाउँमा खुली नै हाल्छन् । बाँकी रहेका ठाउँमा हामी छलफलमै छौँ । नेपाल सरकारले लिएको नीतिलाई हामीले सपोर्ट गर्नै पर्छ र गर्छौं पनि ।

 स्थानीय तहमा कतिपय दुर्गम स्थानहरूमा आर्थिक गतिविधिहरू एकदम न्यून हुने ठाउँहरु पनि छन्  । त्यस्तोमा बैङ्कहरूले शाखा खोलेर के होला ?

बैङ्क एउटा नाफामुखी संस्था हो । नाफा गर्न खोल्नुपर्छ भन्ने एक ठाउँमा छ । तर हामीले यो नेपाल सरकारको लक्ष्य पूरा गर्नलाई भर्खरै सङ्घीयतामा गएको छ । स्थानीय सरकारहरू भएका छन् । हाम्रो नोक्सान नै भए पनि हामी जान तयार छौँ । हामी सबै २८ वटा बैङ्कले बाँढेर हामी एउटाको भागमा कति पर्ला सत्र–अठारवटा पर्ला, हामी तयार छौँ । राज्यको लागि सामाजिक उत्तरदायित्वअन्तर्गत पनि गर्छौं । केही समय हो । बैङ्क पुगिसकेपछि त एकाध वर्षपछि  लगानीका अवसरहरू बढ्छन् । पैसाको डिमाण्ड बढ्छ । मानिसहरूले स्वरोजगारका उपायहरू अपनाउँछन् । त्रियाकलापहरू भई नै हाल्छन् । एकाध वर्ष नोक्सान होला तर त्यो लिन हामी तयार छौँ । तर जान त सक्नुपर्यो नि ! अहिले तुरुन्त ७४४ वटालाई ४ जनाको हिसाबले  खोज्नुभयो भने पनि २ हजार २५ सय म्यानपावर चाहिन्छ । म्यानपावरको पनि कमी छ । त्यस कारण त्यस्ता ठाउँहरूमा ‘ख’ वर्ग या ‘घ’ वर्गलाई पनि दिउँ भन्ने हाम्रो पनि मान्यता हो । त्यो नेपाल राष्ट्र बैङ्क र नेपाल सरकारको निर्णय हामी कुरिरहेका छौँ ।

gyandra 3

स्थानिय तहमा के के हुन सक्छ, बैकले लगानी गर्ने क्षेत्र ?

कतिपय ढाउँमा लगानीको अभावले अथवा पुँजीको अभावले व्यवसायिक कृषि उत्पादन नभएको पनि हुन सक्छ । कैयौँ ठाउँका कतिपय स्पेसिफिक आफ्नै चिजहरू पनि छन् । कुनै ठाउँमा तपाईं जानुभयो भने खुकुरी स्पेसल होला, कतै ढाकाको कपडा, कतै ठेकी उत्पादन स्पेसल होला । त्यस्ता किसिमका कुटिर उद्योगहरू लगानीका सम्भावनाहरू निस्किन्छन् । बैङ्क पुगिसकेपछि बैङ्कले पहिचान गरेर स्थानीयस्तरमा व्यापार, व्यवसाय, खुद्रा व्यापार धेरै किसिमको सम्भावना हुन्छ । नहुने भन्ने होइन ।  यो बाहेक वैदेशिक रोजगारमा जाने हुन्छ, अन्य स्वरोजगारका साना–तिना कार्यक्रमहरू हुन्छन् । गाई, बाख्रा, कुखुरा पालन हुन सक्छ । धेरै किसिमका स्थानीयस्तरमा खपत हुने किसिमका व्यवसायहरू फष्टाउन सक्छन् ।

एनबी बैङ्कको नयाँ योजना के छ ?

यो आर्थिक वर्षमा हामी शाखा र पहुँच विस्तारमै ध्यान दिन्छौँ । नेपाल राष्ट्र बैङ्कले तोकेका सात सय ४४ शाखाका अलावा हामी आफैँले पहिचान गरेका करिब करी बीस–बाईसवटा स्थान छन् । ती स्थानमा पनि हामी शाखा विस्तार गर्दै जान्छौँ । त्यस्तै, केही अन्तर्राष्ट्रिय प्रडक्टहरू हामी अहिले हाम्रो बैङ्किङको कोर बैङ्किङ सफ्टवेयर परिवर्तन गर्ने सिलसिलामा छौँ । त्यो परिवर्तन गरिसकेपछि हाल अन्य बैङ्कले नदिएका सेवा र सुविधाहरू पनि हामीले लिएर आउँछौँ । के–कस्तो भनेर म अहिले भन्दिनँ किनभने भोलिका दिनमा एनबी बैङ्कले सुरु गरेपछि पत्रपत्रिकामार्फत् थाहा भइहाल्छ । केही नवीनतम प्रडक्टहरू लिएर हामी आउँछौँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री