शुक्रबार, १४ वैशाख २०८१

युरोपको अन्तिम विन्दुबाट सगरमाथाको गहिराइ नाप्दा

rss २०७६ भदौ २३ गते १६:०५

Advertisement

अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर सगरमाथाको गहिराइ नाप्ने काम भएको छ ।

सामान्यतया सगरमाथाको उचाइ नापिन्छ तर कविको मन न हो नापियो गहिराइ पनि ! आकर्षक शैलीका साथ धारावाहिक रूपमा लगातार कविता वाचन गर्न सक्ने प्रतिभाशाली युवा कवि नवराज पराजुलीका कविता लिस्बनमा गुञ्जिँदा तालीले सत्कार गर्नाका साथै चर्चित कविता ‘सगरमाथाको गहिराइ’ वाचन गर्दा भने दर्शकदीर्घाबाट ‘वान्स मोर, वान्स मोर’ को माग पनि भयो ।

युरोप यात्रामा रहनुभएका उहाँले पोर्चुगलमा ‘कविता कन्सर्ट’मा कविता प्रस्तुत गरिरहँदा दर्शकका तालीले कवि पराजुलीको लोकप्रियतालाई प्रमाणित गरेको थियो । लगातार पचपन्न मिनेटसम्म कविता वाचन गर्नुभएका उहाँले वाचन गर्नुभएका अन्तिम कविता ‘ह्यपी बर्थ डे’ ले स्रोतालाई भावुक मात्र बनाएन, सबैको आँखा पनि रसाएको देखिथ्यो । कवि आफैँले पनि गला अवरुद्ध पार्दै कविता वाचन गर्नुभएको थियो । ‘वामपन्थी लभ’, ‘रूख’ र ‘च्याउ’ कविताले पनि प्रशस्त ताली पाएको थियोे ।

पहिलो पटक भएको उक्त कन्सर्टमा स्रोताको सहभागिता उल्लेख्य हुनाका साथै आफूहरु पनि उत्साहित बनेको आयोजक मेला लिस्बोयका प्रमुख हरि थापाले बताउनुभयो ।

प्रमुख व्यक्तित्व कवि पराजुलीको छोटो प्रतिक्रिया थियोे, “संसारकै उत्कृष्ट फुटबल स्ट्राइकर क्रिटियानो रोनाल्डो फुटबल गोल हान्छन्, आज उनैको देशमा मैले कवितामा गोल हान्ने मौका पाएँ, खुशी छु ।”

नेपालको भूगोलसँग मिल्ने युरोपकै अर्को सुन्दर देश स्विजरल्यान्डमा फेवाको उचाइ नाप्ने र वा एडमन हिलारीको कथा प्रस्तुत गर्ने उहाँको अर्को तयारी थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री