मंगलबार, ११ वैशाख २०८१

बीमा क्षेत्रले क्रमशः गति लिँदै छ : बीमा समिति अध्यक्ष प्रा.डा. फत्तबहादुर केसीको अन्तर्वार्ता

समयपोष्ट २०७३ भदौ १६ गते ३:५६

नेपालमा बीमा क्षेत्रको अवस्था कस्तो छ ?
नेपालमा बीमा क्रमशः विकास गर्दै अगाडि बढिरहेको छ । शुल्कको दृष्टिकोणले पनि यो वर्षको ग्रोथ राम्रै देखिन्छ । गत वर्षको भूकम्प, त्यसको दाबी भुक्तानी र नयाँ संविधान जारी हुनुभन्दा अगाडि र पछाडि खासगरी नेपालको तराई क्षेत्रमा भएको असामान्य अवस्थाको बाबजुद पनि बीमा क्षेत्र अगाडि बढ्दै गएको देखिन्छ । बीमा कम्पनीको क्रियाकलाप त्यसको शाखा विस्तारको हिसाबले, बीमा शुल्क आर्जन गर्ने हिसाबले पनि यो क्षेत्र विकसित हुँदै गएको छ । त्यतिमात्र नभई रोजगारी सिर्जना गर्ने दृष्टिकोणले पनि बीमा क्षेत्रको योगदान बढ्दै गएको छ । कुल गार्हस्थ उत्पादनमा पनि यसको योगदान गएको आर्थिक वर्षमा २ प्रतिशतको हाराहारीमा पुग्न खोजेको देखिन्छ । त्यसैले यो बीमा क्षेत्रले क्रमशः गति लिँदै गएको छ । 
बीमा समिति बीमाको नियामक निकाय पनि हो तर तालिम अभावले गर्दा जो पायो त्यही मान्छेलेबीमा लेख बिक्री गरेको देखिन्छ ?
तालिम अभावमा जो पायो त्यही मान्छेले बेच्न पाइँदैपाइँदैन । अभिकर्ता हुनुप¥यो त्यसका लागि बीमा कम्पनी आफैँले तालिम दिन्छन् । निर्जीवन र जीवन बीमा दुवैले यस किसिमको तालिम दिन्छन् । तालिम दिने काम बीमा समितिले पनि गथ्र्याे । तर, अहिले हामीले मूल कोर याक्टिभिटिजमा कन्सर्नटेट गरेको हो । किनभने अभिकर्ता त कम्पनी हो । हिजो कम्पनीसँग क्षमता नहुँदा बीमा समितिले तालिम आयोजना गथ्र्याे । अहिले हरेक कम्पनी आफैँले तालिम सञ्चालन गर्ने क्षमतावान् भइसकेको हुँदा हामीले कम्पनीलाई नै दिएको हो । जहाँसम्म बीमालेख बिक्री गर्ने कुरा हो कि त कम्पनीका कर्मचारी आफैँले बिक्री गर्नुपर्छ अथवा इजाजत प्राप्त अभिकर्ताले मात्र बीमालेख बिक्री गर्ने व्यवस्था भएको हुँदा अहिले जोसुकैले पनि बीमालेख बिक्री गर्न पाउँदैन । 
 केही वर्षअगाडि बीमा समिति र बीमक संघ मिलेर तालिम केन्द्र स्थापना गर्ने भनेको थियो त्यो के भयो ?
हामी बीमा समिति र बीमक संघ मिलेर एउटा स्वायत्त निकायका रूपमा बीमा प्रतिष्ठान खोल्ने भनेर केही वर्ष अगाडि त्यो प्रयत्न गरेका हौं । त्यो अहिले पनि जारी छ । तर, त्यसलाई पूरै मूर्त रूप दिन सकिएको छैन र कुनै दिन आउँछ भन्नेमा म विश्वस्त छु ।
fatta bahadur copy

Advertisement

बीमा समितिले बीमा कम्पनीबाट १ प्रतिशत प्रिमियम शुल्क उठाउँदै आएको छ तर बीमाबारे जनचेतना गराउने काम प्रभावकारी रूपमा गरेको त देखिएन ?
त्यसमा अलिकति पनि सत्यता छैन । चाहे त्यो प्रिन्ट मिडिया होस्, श्रव्य दृश्य माध्यम होस् या अन्तरक्रिया कार्यक्रम होस् या अन्य जनचेतनामूलक गतिविधि होस्, त्यो हामीले चरणबद्ध रूपमा काम गरिरहेका छौं । चेतना अभिवृद्धि भन्ने कुरा एउटै माध्यमबाट एकैपटक गर्ने कुरा होइन । हामीले विभिन्न श्रोता ग्रहणकर्ता विभिन्न क्षमताका हुन्छन् । कुनैलाई केले आकर्षित गर्छ, कुनैलाई केले । त्यसर्थ राम्रो प्रचार–प्रसार र चेतना जगाउने कुरामा हामी कन्जुस्याइँ गर्दैनौ । तर, यो पर्याप्त छ भन्ने हामीलाई लाग्दैन । यो निरन्तर चलिरहने प्रक्रिया हो । बीमा सचेततालाई आर्थिक सचेततासँग पनि मिलाउनुपर्छ । त्यसका लागि अहिले विभिन्न निकाय छन् । त्यसकारण हामीले बैंक, इन्स्योरेन्स अन्य आर्थिक समाग्रीबारे एकैपटक आमसर्वसाधारणलाई चेतना जगाउने स्वरूपका काम भए त्यसले अलि बढी फलदायी हुन्छ भन्ने हामीलाई लाग्छ । 
बीमाबारे सहरी क्षेत्रमा केही मानिसले मात्र बुझेका छन्, ग्रामीण क्षेत्रमा त बीमाबारे धेरै मान्छेले बुझेका छैनन् ?
त्यो चिन्ता हामीलाई पनि हो । यस्ता क्रियाकलाप सहरी क्षेत्रमा मात्र केन्द्रित भयो । त्यसकारण हामीले पचहत्तर जिल्लामा त्यसमा पनि हरेक निर्वाचन क्षेत्रमा अझ गाविस, वडा–वडाको पनि हरेक घरधुरी समावेश गर्नुपर्छ । त्यतिमात्र होइन, घरभित्रको चीज, खेतबारीका चीज, पशुपालन सबै बीमाको दायरामा आउनुपर्छ । बीमाले समेट्नुपर्छ भनेर हामी लागेका हौं । तसर्थ, विगत केही वर्षयतादेखि बीमा कम्पनीलाई गाउँ तथा जिल्लामा जान धेरै प्रेरित गरिएको छ । कृषि बीमामार्फत निर्जीवन बीमा कम्पनीलाई पनि पचहत्तरै जिल्लामा आफ्ना गतिविधि विस्तार गर्न अनिवार्य व्यवस्था गरेका छौं । जीवन बीमामा अभिकर्तामार्फत हरेक जिल्लामा गइसकेको अवस्था हो । त्यसैले हिजो के थियो, त्यो फरक कुरा हो । आज के भएको छ र भोलि के गर्ने महत्वपूर्ण कुरा हो । त्यसबाट हामीले जुन प्रयत्न गर्दै गइरहेका छौं, त्यसले बीमा सेवा पचहत्तरै जिल्लामा पुगेको छ । भविष्यमा यो गतिलाई अझ तीव्रता दिनुपर्छ ।

बीमा कम्पनीको पुँजी वृद्धिको फाइल कहाँ पुग्यो ?
प्रस्तावित ऐनमा एउटा चरणको पुँजीको लेभल फिक्स गरेर पठाएका छौं । त्यो ऐन अर्थ मन्त्रालयमा छ । पुँजी बढाउने अहिले आवश्यकता हो । हामीले पहिलेदेखि नै महसुस गरिरहेका छौं । पुँजी वृद्धि गर्ने भनेको बीमा समिति नियमनकारी निकायले तोक लगाएर हामी गर्छौं भन्ने होइन । भूकम्प गयो, महाविपत्ति आउन सक्छ । अहिले बीमाको गतिविधि बढेको छ । प्रिमियम, बीमालेख पनि बढेको छ । जोखिम त बढ्यो । जोखिमलाई ग्रहण गर्ने क्षमता बढाउनका लागि कम्पनी सक्षम हुनुपर्छ । सक्षम हुने भनेको पुँजी, प्रविधि, जनशक्ति, रिजर्भको दृष्टिकोणले हो । सक्षम हुनुपर्ने हुँदा बीमा कम्पनी आफैँले पुँजी वृद्धि योजना बनाउँदै लगे राम्रो हुन्छ भन्ने हाम्रो धारणा हो । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री