शुक्रबार, १६ चैत २०८०

लिपिङमा विद्युत् आयोजना निर्माण गरिने

rss २०७६ भदौ १९ गते १८:४१

Advertisement

नेपाल र चीनको सिमानामा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ तातोपानीस्थित लिपिङमा विद्युत्मा निजी क्षेत्रबाट जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ ।

हिमशिखर प्रालिद्वारा रु तीन अर्ब २६ करोडको लगानीमा १६.२६ मेगावाट क्षमताको जलविद्युत् आयोजना २०७९ सालमा सम्पन्न हुने गरी निर्माण हुन लागेको प्रवद्र्धक रामकाजी पौडेलले जानकारी दिनुभयो ।

आगामी दशैँपछि निर्माण कार्य शुरु गरिने उक्त आयोजनाका लागि एनएमबी बैंकसँग ऋृण सम्झौता भएको छ । लिपिङस्थित अरनिको राजमार्गबाट माथि रहेको स्थानमा विद्युत्गृह निर्माण गरिने र त्यहाँबाट दुई हजार ६०० मिटरमाथि बाँध निर्माण गरिने हुँदा आयोजना स्थलसम्म सामान ढुवानी गर्न सडकदेखि २५० मिटर रोप वे (रज्जु मार्ग) को निर्माण भइरहेको छ ।

बाँध स्थलदेखि विद्युत्गृहसम्म एक हजार ४०० मिटर सुरुङ मार्ग र एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पानी खसालिने छ । निर्माणको चरणमा आयोजनामा आवश्यक पर्ने ऊर्जाका लागि ६०० किलोवाट क्षमताको लागि माइक्रो हाइड्रोकोसमेत निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त आयोजना गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने हुँदा संरक्षण क्षेत्र र वन तथा वातावरण मन्त्रालयबाट समेत स्वीकृती प्राप्त भवसकेको प्रवद्र्धक पौडेलले जानकारी दिनुभयो ।

उत्पादित विद्युत् सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा कायम गरी विद्युत् खरीद बिक्रीसमेत सम्पन्न भइसकेको छ । त्यहाँ उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न शिवश्री हाइड्रो पावरको साझेदारीमा आयोजना स्थलदेखि लामोसाँघुसम्मको ३६ किलोमिटर १३२ के भि ए प्रसारण लाइन मध्ये २२ किलोमिटर प्रसारण लाइनको कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री