युवाहरूलाई आकर्षित गर्न स्टार्टअप बिजनेसमा लगानी गर्नुपर्छ
वाणिज्य बैंकहरु माझ कान्छो बैंकमध्येको एक तर चुक्ता पुँजीको आधारमा एक ठूलो बैंकको रुपमा स्थापित प्रमोटर र सेयरहोल्डरलाई दिनुपर्ने रिटर्नको परिसूचक हेर्दा र बैंकको एनपीए लेवल हेर्दा मेगा बैंकको आर्थिक स्थितिबारे बताइरहन आवश्यक देखिँदैन किनकि यसको नम्बरले नै देखाउँछ, जुन धेरै नै राम्रो रहेको छ ।
मेगा बैंकको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
गत आर्थिक वर्षमा पनि बैंकिङ क्षेत्रमा लगानीयोग्य रकमको अभाव देखियो । यस्तो अवस्था माझ मेगा बैंकको निक्षेप संकलन उत्साहजनक रहेको तथ्याङ्कले देखाएको छ । व्यवसाय वृद्धिदरको आधारमा बैंक अग्रणी स्थानमा रहेको छ जसले गर्दा कर्जा प्रवाह तथा निक्षेप संकलनमा आफ्नो स्थान थप सुदृढ गर्न बैंक सफल भएको छ । यसले पनि मेगा बैंकको स्ट्रेन्थ कस्तो छ भन्ने देखाउँछ । व्यवसायमा बैंकले हासिल गरेको उच्च वृद्धिदर ग्राहकवर्गहरुको बैंक प्रतिको बढ्दो विश्वास भएको मैले बुझेकी छुँ । साथसाथै, सञ्चालनमा रहेका वाणिज्य बैंकहरु माझ कान्छो बैंकमध्येको एक तर चुक्ता पुँजीको आधारमा एक ठूलो बैंकको रुपमा स्थापित प्रमोटर र सेयरहोल्डरलाई दिनुपर्ने रिटर्नको परिसूचक हेर्दा र बैंकको एनपीए लेवल हेर्दा मेगा बैंकको आर्थिक स्थितिबारे बताइरहन आवश्यक देखिँदैन किनकि यसको नम्बरले नै देखाउँछ, जुन धेरै नै राम्रो रहेको छ ।
नयाँ आर्थिक वर्षमा यस बैंकका योजना के–के छन् ?
अहिले मर्जरको पनि कुरा आइरहेको छ । नियामक निकायको निर्देशनहरू हेर्दा मर्जर गर्नुपर्ने अवस्था आउने हो कि जस्तो देखिन्छ । त्यस कारण एकातिर मर्जबारे विचार गर्दैछौँ भने अर्को नर्मल ग्रोथ जुन शाखा, एक्स्टेन्सन काउण्टरहरूको विस्तारलाई क्रमिक रूपमा अगाडि लैजाँदै छौं। हामी पाँचवर्षे दीर्घकालीन योजनाको तेस्रो वर्षमा छौं अहिले । योजना बमोजिम अगाडि बढेका छौँ । बैंकको स्रोत, साधन तथा जनशक्ति डिजिटाइजेसन र स्तरीय सेवा/सुविधाहरु बढाउनुमा केन्द्रित हुन्छ किनभने ब्याजदरदेखि लिएर प्रडक्टहरु परिमार्जित हुँदै बैंकहरूले अब लगभग एकै किसिमको दिन शुरु गरिसकेका छन् । त्यस कारण सेवाको गुणस्तरमा बढी केन्द्रित भएर डिजिटाइजेसनलाई प्राथमिकतामा राखि हामी अगाडि बढ्छौँ । डिजिटाइजेसनमा अहिले हामीले मोबाइल बैंकिङ, ब्रान्चलेस बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, पस मेसिन लगायत क्यूआर कोड पनि सञ्चालनमा ल्याईसकेका छौँ । सूचना/प्रविधिसंग सम्बन्धित जोखिम एवं सुरक्षालाई बढी ध्यानमा राख्दै हामी अगाडि बढ्ने छौँ ।
एकातिर मर्जबारे विचार गर्दैछौँ भने अर्को नर्मल ग्रोथ जुन शाखा, एक्स्टेन्सन काउण्टरहरूको विस्तारलाई क्रमिक रूपमा अगाडि लैजाँदै छौं। हामी पाँचवर्षे दीर्घकालीन योजनाको तेस्रो वर्षमा छौं अहिले । योजना बमोजिम अगाडि बढेका छौँ ।
मौद्रिक नीति र त्यसपछिको परिपत्रमा आएका कुराले मर्जका लागि कत्तिको आकर्षित गर्छन् ?
नयाँ आएको स्प्रेडदर गणना विधि हेर्दा र मर्जरमा जाने बैंकहरूलाई छुट दिने व्यवस्था हेर्दा मर्जरमा जानुनै उपयुक्त देखिन्छ ।
स्प्रेडको कुरामा राष्ट्र बैंकको जुन क्याल्कुलेसन आएको छ त्यो मर्जरमा जानका लागि पर्याप्त छ, अरू केही हेर्नै पर्दैन । नयाँ आएको स्प्रेडदर गणना विधि हेर्दा र मर्जरमा जाने बैंकहरूलाई छुट दिने व्यवस्था हेर्दा मर्जरमा जानुनै उपयुक्त देखिन्छ । छुट एक वर्षको लागि मात्रै हो भन्ने तर्क गर्ने हो भने पनि मर्जर पछि आकारमा आउने वृद्धिले आम्दानीको दायरा फराकिलो हुन सक्ने, सञ्चालन लागतमा कटौती हुन सक्ने जस्ता अवसरहरुको सृजना हुन्छ । यद्यपि त्यो आफ्नो–आफ्नो बोर्डले सोच्ने कुरा हो । फेरी अर्को पनि प्रश्न आउँछ, बैंकहरुले आर्जन गरिरहेको मुनाफालाई छोड्न सक्छन त ? यो ठूलो कुरा हो, त्यसले गर्दा सोच्नुपर्ने अवस्था आइसकेको छ ।
स्प्रेडको नयाँ सूत्रले बैंकलाई कस्तो असर गर्छ ?
बैंकिङ क्षेत्रको करिब २५/३० अर्ब रुपैयाँ मुनाफा घट्छ भनेर भनिरहेकै छन् । यो विषय राष्ट्र बैंकमा विचाराधिन पनि होला । हामीले एनबिएबाट लेखि पठाएका पनि छौँ । कहिलेदेखि लागू हुने हो, त्यो प्रस्टसँग आयो भने बैंकिङ क्षेत्रको आय पक्कै घट्छ ।
बैंकिङ क्षेत्रमा हुँदै आएको लगानीयोग्य रकमको अभाव र उच्च ब्याजदरलाई नियन्त्रण गर्न यो मौद्रिक नीति कत्तिको सक्षम देख्नुहुन्छ ?
सातवटै प्रदेशमा बजेट गएको छ । त्यहाँ विकासका कार्य अघि बढ्नेमा हामी विश्वस्त छौँ । र त्यही अनुरूप खर्च भइदिएको खण्डमा फेरि ‘डिपोजिट क्रन्च’ नहोला भन्ने आशा लिएका छौँँ ।
अहिले निक्षेपको ब्याजदर सिंगल डिजिटमा आइसकेको छ भने बेस रेट पनि सोही बमोजिम घट्दै गइरहेको छ । मौद्रिक नीति मार्फत जारी भएको स्प्रेडको नयाँ सूत्रले ब्याजदरलाई नियन्त्रण गर्न अवश्य सपोर्ट गर्छ, यसले ब्याजदर तल रहन्छ भन्ने देखाउँछ । लगानीयोग्य रकमको अभावको जुन कुरा गरिरहेका छौँ, त्यो हेर्न बाँकी नै छ किनभने हामीले पछिल्ला तीन वर्षहरुदेखि हरेक आर्थिक वर्षको पहिलो तीन महिना बैंकिङ क्षेत्रमा पैसा अधिक भएको, त्यसपछि कमी हुँदै आएको अनुभव गरेका छौं । त्यस कारण यो वर्ष त्यो प्रवृत्ति हेर्नु नै छ । तर पनि सातवटै प्रदेशमा बजेट गएको छ । त्यहाँ विकासका कार्य अघि बढ्नेमा हामी विश्वस्त छौँ । र त्यही अनुरूप खर्च भइदिएको खण्डमा फेरि ‘डिपोजिट क्रन्च’ नहोला भन्ने आशा लिएका छौँँ ।
सरकारको ढुकुटीमा रहरेको पैसाबाहेक ‘डिपोजिट क्रन्च’ हुन नदिने अरू विकल्प के होलान् ?
विकल्प छन् । अहिले राष्ट्र बैंकले पनि बाहिरबाट पुँजी ल्याउन सक्ने भनेर बोलिदिएको छ तर जुन विदेशी ऋणको कुरा गर्छौं, हामी यसमा यूएस डलरमा ऋण स्वीकार गर्दा यसको हेजिङ लागतको कुरा आउँछ, जुन निकै महँगो छ । अर्को हाम्रो कन्ट्रि रेटिङ अहिले पनि इन्भेस्टमेन्ट ग्रेडमा छैन । त्यसले गर्दा अलि महँगोमा पैसा आउँछ । कुनै पनि लगानीकर्ताले सबैभन्दा पहिले कन्ट्रिको रिस्क के हो त भनेर हेर्छ नै । त्यसपछि कहाँ लगानी गरिरहेको छु भनेर हेर्छ । त्यसको रिटर्न खोज्दा उच्च जोखिम छ भने उसले उच्च रिटर्न खोज्ने गर्छ । त्यसले गर्दा कस्ट अफ फण्ड एकातिर उच्च हुने र अर्को स्रोत सङ्कलन गर्दा नै रेटिङले गर्दा अप्ठ्यारो छ तर अब त्यो बाटो पनि खुलेको छ ।
महिला सीईओका रूपमा बैंक हाँकिरहनुभएको छ, मेगा बैंककोे हलोदेखि हाइड्रोसम्म भन्ने स्थापना कालको लक्ष्य थियो । त्यो कत्तिको पूरा गर्न सकेजस्तो लाग्छ ?
अहिले राष्ट्र बैंकले विपन्नवर्ग क्षेत्रमा पाँच प्रतिशत लगानी गर्न भनेको छ । हामी सात प्रतिशत नजिक हिँडिरहेका छौँ । हाम्रो पञ्चवर्षीय योजनामा यसलाई १० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ । हामी आफ्नो भिजनअनुसार अगाडि बढिरहेका छौँ । अहिले सहुलियतपूर्ण कर्जा भनेर राष्ट्र बैंकले अनुदानमा आधारित कर्जा ल्याएको छ । महिलाका लागि १५ लाखसम्मको कर्जामा ६ प्रतिशतको अनुदान दिने व्यवस्था गरेको छ । युवालाई आकर्षित गर्नलाई ‘स्टार्टअप’ बिजनेसमा लगानी गर्नुपर्छ भन्ने मलाई लाग्छ । त्यसको जोखिम विश्लेषण गर्नुपर्छ भनेर अगाडि बढिरहेका छौँ । तर यसमा हामीले एक/दुुई वटा इस्युु देखिरहेका छौँ । ‘स्टार्टअप’ बिजनेस गर्न आउँदा सर्टिफिकेट मात्र लिएर आएर हुँदैन । त्यो सँगसँगै तपाईंको प्रोजेक्ट के हो भनेर प्रोजेक्ट स्टडी ल्याउनुपर्छ । प्रोजेक्ट स्टडी बनाउनका लागि हामीले युवामा त्यो ज्ञान बढाउनुपर्यो । ज्ञानको विकास गरेर आफ्नो आइडियालाई कसरी व्यावहारिक प्रोजेक्टमा लगाउने भन्ने कुरामा हामी खुला छौँ र युवालाई अगाडि आउनका लागि सहयोग गर्न हामी तयार छौँ ।
अहिलेको हाम्रो सोचाइ भनेको रोजगारी खोज्ने होइन रोजगारी दिने, आफू आफ्नै बोस हुने, व्यवसाय सञ्चालन गर्ने यो सोचमा युवालाई सपोर्ट गर्न हामी अगाडि बढिरहेका छौँ ।
हाम्रो बैंक भनेको विशुद्ध नेपालीको बैंक हो । १ हजार २ सय १९ जना संस्थापकहरुबाट यो बैंकको शुरुवात भएको थियो । अहिले ३ हजार संस्थापकहरु हुनुहुन्छ मेगा बैंकमा । त्यो बेला नै ६३ जिल्लामा फैलिएको थियो बैंकको लगानीकर्ताहरुको सञ्जाल । अहिले बैंकको १०२ शाखा र २० एक्स्टेन्सन काउण्टर रहेका छन् । विदेशबाट फर्किएका युवा, स्वदेशकै पढेलेखेका युवा जो नेपालमै केही गर्न चाहनुहुन्छ लगानीको माध्यमबाट उहाँहरूलाई हामी अगाडि लैजान चाहन्छौँ । ‘स्टार्टअप’ बिजनेस शुरुवातमा ८० प्रतिशत, दोस्रो वर्ष ६०, तेस्रो वर्ष ५९ र चौथो वर्ष ४४ प्रतिशत दिगो हुन्छ भन्छन् । त्यसले पनि ठूलो फरक पार्छ । त्यस कारण अहिलेको हाम्रो सोचाइ भनेको रोजगारी खोज्ने होइन रोजगारी दिने, आफू आफ्नै बोस हुने, व्यवसाय सञ्चालन गर्ने यो सोचमा युवालाई सपोर्ट गर्न हामी अगाडि बढिरहेका छौँ । पहिलेदेखि नै हाम्रो लक्ष्य भनेको हलोदेखि हाइड्रोसम्मकै हो । यो भिजनलाई हामीले अगाडि लिएर गइरहेका छौँ । आगामी दिनमा पनि यसबाट पछि हट्ने छैनौँ । बैंकिङ भनेको विश्वासको खेती हो । हामी जति ग्राहकहरूको विश्वास जित्न सक्छौँ, त्यति छिटो अगाडि बढ्न सक्छौँ । हामी ग्राहकसँगै मिलेर अगाडि बढ्ने छौँ ।
प्रतिक्रिया