आइतबार, ४ साउन २०८२

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देव कुमार ढकालद्वारा पदभार ग्रहण

समयपोष्ट २०८२ साउन ३ गते २०:१२

नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गर्नुभएको छ। साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रूपमा ढकाललाई अध्यक्षमा चयन गरेपछि उहाँले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

ढकालसँग नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा लामो समयसम्म विभिन्न जिम्मेवारीमा रहेर काम गरेको समृद्ध अनुभव छ। हालै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको भूमिकामा रहनुभएका ढकाल वित्तीय प्रणाली, बैंकिङ प्रशासन र नियमनका क्षेत्रमा विशेषज्ञ मानिनुहुन्छ।

नवनियुक्त अध्यक्ष ढकाललाई सञ्चालक समितिका सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैंकको व्यवस्थापन समितिका पदाधिकारीहरू, कम्पनी सचिव प्रमोद अधिकारीलगायत प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरूले स्वागत गर्नुभएको थियो।

वि.सं. २०२२ मा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशभरका ७७ वटै जिल्लामा ३०९ शाखा कार्यालयहरू मार्फत ४७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवाको विकासमा जोड दिँदै आफ्ना सेवाहरूलाई समयानुकूल बनाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री