बिहीबार, ६ वैशाख २०८१

टनकपुर– महेन्द्रनगर लिंक सडक निर्माण कार्य अघि बढ्यो

समयपोष्ट २०७४ भदौ २४ गते ८:०१

सुस्तगतिमा निर्माण कार्य अगाडि बढ्दै आएको टनकपुर– महेन्द्रनगर लिंक सडक निर्माणको कार्य चालु आवदेखि द्रूतगतिमा अगाडि बढेको छ । 

Advertisement

लिंक सडक निर्माणका लागि चालु आवमा रु १५ करोड बजेट विनियोजन भई कार्य अगाडि बढाइएको हो । सडकमा ग्राभेलिङ्ग गर्ने, माटो भरान गर्ने, कल्भर्ट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ । 

सडकको तीन किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने, कल्भर्ट, पाइप कल्भर्ट, वक्स स्ल्याब निर्माण गर्ने माटोभरान र ग्बालिन जाली भर्नेलगायतका स्तरोन्नतिका कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका इञ्जिनियर खगेन्द्रबहादुर शाहीले बताए । 

“दुई वर्षदेखि सडक निर्माणका लागि निरन्तर रुपमा बजेट आउन थालेपछि निर्माणकार्य समेत अगाडि बढेको छ” उनले भने । विगतमा थोरै बजेट विनियोजन हुँदा आठ वर्षको अवधिमा सडक निर्माणको २० प्रतिशत कार्य मात्रै सम्पन्न हुनसकेको उनको भनाइ रहेको छ । 

गत वर्ष रु १५ करोड बजेट विनियोजन भएकोमा रु आठ करोड ४८ लाखमा सडक निर्माणका लागि ठेक्का भएको थियो । आब ०७२/७३ मा रु ७८ लाख सडक निर्माणका लागि विनियोजन भएको थियो । 

डिभिजन सडक कार्यालय महेन्द्रनगरका इञ्जिनियर शाहीले आउँदो आवदेखि मात्रै सडक कालेपत्रे गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने बताए । 

आव ०६७/६८ मा शिलान्यास गरिएको सडकको ब्रम्ह्देवदेखि महेन्द्रनगरको भासिसम्म ट्र्याक खन्ने र ग्राभेलिङ गर्ने कार्य गरिएको थियो । ट्र्याक खोल्न र ग्राभेलिङ्गका लागि मात्रै रु दुई करोड ५० लाख रकम खर्च गरिएको थियो । 

त्यसपछि बजेट अभावले सडक स्तरोन्नति र कालोपत्रे गर्ने कार्य हुनसकेको थिएन । टनकपुरदेखि ब्रम्हदेवसम्मको तीन किलोमिटर सडक भारत सरकारले निर्माण गर्ने भए पनि हालसम्म कार्य अगाडि बढाएको छैन । 

सडकको सर्भे डिजायन स्टिमेट सबै भारत सरकारले गरेको सडक काठमाडौँं नयाँदिल्ली सोझै बससेवा सञ्चालनका लागि निर्माण गर्ने सहमति भएको थियो । सडक निर्माणका लागि छवर्ष अघिनै ३४२ परिवारलाई मुआब्जा वितरणको कार्य नेपाल सरकारले पूरा गरिसकेको छ । 

महेन्द्रनगरको भाँसिदेखि टनकपुर ब्यारेजसम्म गरी सडकको लम्बाई १३ किलोमिटर रहेको छ । सडकको चौडाइ सात मिटर रहको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री