शनिबार, ८ वैशाख २०८१

सात वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न भएन,कमजोरी कसको ?

समयपोष्ट २०७४ भदौ १९ गते १०:३३

 किरण धामी

Advertisement

व्यासवासीको गाडी चढ्ने सपना सपनामै सीमित हुन पुगेको छ । नेपालतर्फ बाटो नहुँदा भारतीय बाटो प्रयोग गर्दै आएका व्यासवासी दार्चुला– तिंकर सडक बन्ने आशमा आफ्नै भूमिभएर घर फर्कन पाइने भन्दै खुशी । तर सडक निर्माण शुरु भएको झण्डै सात वर्ष बितिसक्दासमेत उनीहरुको गाडी चड्ने सपना पूरा हुन सकेको छैन । 

कूल १४० किमी लम्बाइ रहेको दार्चुला– तिंकर सडकको अहिलेसम्म १८ किमी मात्रै सडक खुलाइएको छ । सो सडकखण्डअन्तर्गत राताकाठाको भिरमा सडक निर्माण हुन नसक्दा यहाँका बासिन्दाले सहजरुपमा गाडी चढ्न पाएका छैनन् । उक्त सडक निर्माण कार्य आव २०६६/६७ देखि शुरु भएको हो । आव २०७५/७६ सम्ममा १४० किमी सडक निर्माण सम्पन्न गरिसक्ने आयोजनाको लक्ष्य छ । तर निर्धारित समय सकिन दुई वर्ष बाँकी रहँदा १८ किमी मात्र बाटो खुलेको छ । 

दार्चुला–तिंकर सडक निर्माणका लागि विनियोजित बजेट खर्च हुन सकेको छैन । दार्चुला–तिंकर सडकका लागि विगतका चारवटा आवमा सरकारले रु ७० करोड ९४ लाख ८१ हजार विनियोजन गरेको छ । तर हालसम्म रु २२ करोड ९३ लाख ८० हजार मात्र खर्च भएको सो आयोजनाका प्रमुख मनीषकुमार शाहले जानकारी दिए । 

“चार वर्षमा यस आयोजनाका लागि विनियोजित रकममध्ये रु ४८ करोड एक लाख एक हजार फिर्ता भएको छ,” उनले भने । सडक बनेपछि तिंकर भन्सार नाका खुल्ने, चीनबाट सहजै आवश्यक वस्तु आयात गर्न सकिने, कैलाश मानसरोवरसम्म दुई दिनमै पुगिनेलगायत यहाँका स्थानीयवासीकोे सपना थियो । तर सडक निर्माणको जिम्मा पाएको कार्यालय र निर्माण व्यवसायीको लापरबाहीका कारण सो सडकले गति लिन सकेको छैन । 

सडक निर्माणमा ढिलाइ हुनुमा भारतीय नाकाबन्दी, निर्माण सामग्रीको अभाव, इन्धन अभाव र एक वर्षे ठेक्का प्रणालीजस्ता कारण रहेको आयोजनाका प्रमुख शाह बताउछन् ।   आयोजनाले २०७१ माघमा नेपाली सेनामार्फत १० हजार १०० किलो विस्फोटक पदार्थका लागि रु २६ लाख १५ हजार बुझाइसकेको छ । तर अझैसम्म नेपाली सेनाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेको आयोजना प्रमुख शाहको भनाइ छ । 

“विस्फोटक पदार्थ उपलब्ध गराउन ढिलाइ हुने नेपाली सेनाबाट जवाफ आएको छ,” उनले भने । सेनाले २०७१ चैत २६ गते तीन हजार १०० किलो तथा २०७२ फागुन २६ गते दुई हजार ६०० किलो विस्फोटक पदार्थ उपलब्ध गराएको शाहले बताए । 

मन्त्री तथा सांसदले समेत पटक–पटक विस्फोटक पदार्थ उपलब्ध गराउन पहल गर्ने आश्वासन दिए पनि कार्यान्वयनमा आउन नसकेको व्यास गाउँपालिकाका बासिन्दा दानसिंह तिंकरीले बताए । विस्फोटक पदार्थ आवश्यक नभएका ठाउँमा समेत निर्माण व्यवसायीको लापरबाहीका कारण काम हुन सकेको छैन । चालू आव २०७४/७५ को डेढ महिना बितिसक्दा पनि निर्माण व्यवसायीले काम शुरु गरेका छैनन् । 

“एक सातापछि निर्माण व्यवसायीले काम सञ्चालन गर्छन,” आयोजना प्रमुख शाहले भने । यस वर्ष वीरेन्द्र वनदेखि राप्लाको कोठेधारसम्म सडक निर्माण हुनेछ । गत आवदेखि निर्माण शुरु गरेका दुईवटा निर्माण कम्पनीले समेत तिव्र गतिमा काम गरेका छैनन् । लास्कु खोला र निजाङ गाडमा निर्माण गर्नुपर्ने पुलको म्याद थप गरिएको छ । 

वर्षौंदेखि भारतीय बाटो हुँदै राप्ला, व्यास, सुनसेरा, हुतीलगायतका नागरिक अहिले भारतीय बाटोको भर पर्नु परेको छ । भारतीय बाटो प्रयोग गर्दा महाकाली नदी तर्न तुइन प्रयोग गर्नुपर्ने स्थानीयवासीको बाध्यता छ । यात्राका क्रममा तुइनबाट खसेर बर्सेनि स्थानीयवासीले अकालमै ज्यान गुमाउनु परेको छ । चालू आवको शुरुमै तुइनद्वारा नदी तर्न खोज्दा तीनजनाको ज्यान गएको छ । 

दार्चुला–तिंकर सडक निर्माणमा भइरहेको ढिलाइकै कारण अहिले पनि दुहुँवासीले कष्टकर यात्रा गर्नुपरिहेको व्यास गाउँपालिका बासिन्दा हरिदत्त भट्ट बताउछन् । गत आवबाट शुरु भएको महाकाली करिडोर समेत अझै निर्माण शुरु भएको छैन । महाकाली करिडोरअन्तर्गत डडेल्धुराको जोगबुढादेखि दार्चुलाको राताकाठा भीरसम्म सडक निर्माणका लागि गत जेठ १८ गते सम्झौता भएको थियो । लामा– चन्द्र एण्ड वसन्त जेभीसँग ठेक्का सम्झौता भए पनि अझै काम सञ्चालन भएकोे छैन । 

झण्डै ६९ किमी सडक निर्माण गर्न कूल रु ५२ करोड ७४ लाख ९१ हजार बजेटको सम्झौता भएको छ । दार्चुला–तिंकर सडकलाई महाकाली करिडोरमा गाभेपछि निर्माण तिव्र रुपमा अगाडी बढाउनुपर्ने महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्ट बताउछन् ।  महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म जोडिएको छ । यस आवमा महाकाली करिडोरका लागि रु २९ करोड ९८ लाख ९५ हजार बजेट विनियोजन गरिएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री