शुक्रबार, १४ वैशाख २०८१

राष्ट्र बैंकद्धारा सेयर धितो, रियल स्टेट र भुक्तानी व्यवस्थामा कडाइ

समयपोष्ट २०७३ भदौ ९ गते ३:०८

नेपाल राष्ट्र बैंकले साउनमा जारी गरेको एकिकृत निर्देशनमा संसोधन गर्दै सेयर धितोमा दिइने मार्जिन लेन्डिङमा कडाइ गरेको छ। अब बैंक तथा वित्तिय संस्थाले पछिल्लो १८० दिनको औषत मूल्य या प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ५० प्रतिशत मात्र मार्जिन लेन्डिङ गर्न पाउनेछन्। 
यस अघि  बैंकहरुले सेयर मूल्यको ६० प्रतिशत हाराहारी मार्जिन लेन्डिङ गर्दै आएका थिए। राष्ट्र बैंकको नयाँ निर्देशन पछि मार्जिन लेन्डिङ कम्तिमा १० प्रतिशत बिन्दुले घट्ने भएको छ।  मार्जिन ऋण दिइएको सेयरको मूल्य तल झरेमा बैंकले सात दिन भित्र मार्जिन कल गर्नु पर्नेछ। साथै यस्तो सेयरको मूल्य उकालो लाग्दा भने पुनर्मुल्याङ्कन गरेर ऋण थप गर्न पाइनेछैन। यो व्यवस्थाले सेयर बजारलाई ओरालो लगाउन सक्नेछ। 
यस्तै राष्ट्र बैंकले संस्थापक सेयरको धितोमा दिइने कर्जा सिमामा पनि कडाइ गरेको छ। उक्त धितोमा यस अघि साधारण सेयरको १८० दिनको औषत मूल्यको ५० प्रतिशत या संस्थापक सेयरको प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ त्यसको ६० प्रतिशत मार्जिन लेन्डिङ गर्न पाइन्थ्यो। अब यहि मापदण्ड अनुसार मूल्याङ्कन गरि बढीमा ५० प्रतिशत मात्र बैंकहरुले कर्जा दिन पाउने भएका हुन्। 
राष्ट्र बैंकले घर जग्गा तथा रियल स्टेटको सुरक्षणमा प्रदान गर्ने कर्जाको सिमा समेत घटाएकोछ। रियल स्टेट धितोमा बजार मूल्य ९फेयर मार्केट भ्यालु०को ५० प्रतिशत मात्र तथा आवासिय घर कर्जा ६० प्रतिशत मात्र दिन पाइने भएको हो। यस अघि यो कर्जा क्रमशस् बजार मूल्यको ६० प्रतिशत र दुई तिहाइ सम्म थियो। नयाँ व्यवस्थाले रियलस्टेट व्यवसायी सँगै सुरक्षित कर्जा मानिने आवासिय घर बनाउन चाहनेलाई समेत प्रभावित पार्नेछ। 
केन्द्रिय बैंकले कर्जा लगानी मात्र होइन भुक्तानी व्यवस्थामा समेत कडाइ गरेको छ। यस अघि ५० लाख रुपैयाँ भन्दा माथिको भुक्तानीमा अनिवार्य एकाउन्टपेयी चेक काट्नुपर्नेमा त्यो सिमा ३० लाखमा झारिएको हो।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री