बिहीबार, १३ वैशाख २०८१

महिला सशक्तीकरणको लागि भारत सरकारको सहयोग 

समयपोष्ट २०७३ भदौ ८ गते ७:५५

सुदूरपश्चिममा रहेको दार्चुला जिल्लामा महिला सशक्तीकरण कार्यक्रम सञ्चालनका लागि भारत सरकारले एक करोड ४४ लाख सहयोग उपलब्ध गराएको छ ।
 स्थानीय समाजसेवी महिला कार्यकर्ता दुर्गा अवस्थी, स्थानीय विकास अधिकारी सहदेव रायमाझी र नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंहबीच महिला सशक्तीकरण कार्यक्रममा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 
सो सहयोग कार्यक्रमअन्तर्गत सुरुमा खलङ्गा गाविसका अति विपन्न तथा सीमान्तकृत समुदायका पन्ध्र महिलालाई सिलाइबुनाइसम्बन्धी तालिम एवम् आवश्यक उपकरण उपलब्ध गराइने बताइएको छ । आर्थिक रूपले विपन्न र पिछडिएका महिलालाई स्वरोजगार तथा स्वावलम्बी तुल्याई आत्मनिर्भरतातर्फ अग्रसर बनाउन सो सहयोग महत्त्वपूर्ण हुने स्थानीय सचेत तप्काले विश्वास लिएका छन् ।
 उक्त जिल्लामा नेपाल–भारत आर्थिक विकास परियोजनाअन्तर्गत दुई करोड ६३ लाखका दुई आयोजना पहिले नै सम्पन्न भएका छन् भने चार करोड ६३ लाखका अन्य दुई आयोजना निर्माणाधीन अवस्थामा छन् । जिल्लाको जनस्वास्थ्य क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुईवटा एम्बुलेन्स पनि भारत सरकारले दार्चुलालाई उपलब्ध गराइसकेको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री