शनिबार, ८ कार्तिक २०८२

नागरिकताको अभिलेखलाई ‘डिजिटाइजेसन’

समयपोष्ट २०८२ कार्तिक ८ गते ७:१०

Advertisement

चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो तीन महिनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नौ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् । नयाँ नागरिकता, विद्युतीय राहदानी बनाउनेको सङ्ख्या भन्दा पनि राष्ट्रिय परिचयपत्र बनाउने आउने जिल्लावासीको सङ्ख्या उल्लेख्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताउनुभयो ।

उहाँकाअनुसार जिल्लाबाट गत साउन १ देखि असोज मसान्तसम्म नौ हजार ३१५ जनाको राष्ट्रिय परिचयपत्रको लागि विवरण सङ्कलन गरिएको छ । राष्ट्रिय परिचयपत्रको बनाउने आउनेमा पाँच हजार ४०८ जना महिला तथा तीन हजार ९०७ जना पुरुष रहेका उहाँको भनाइ छ । जिल्लाबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तीव्ररुपमा भइरहेको उहाँको भनाइ छ ।

बैङ्क खाता खोल्नदेखि सरकारी कामका लागि समेत सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गराएपछि जिल्लावासी राष्ट्रिय परिचयपत्र बनाउन आउन लागेका उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कावासोतीबाट जिल्लावासीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिँदै आएको छ ।

त्यस्तै, यही अवधिमा जिल्लामा नयाँ नागरिकताभन्दा धेरैले राहदानी (पासपोर्ट) बनाएका छन् । गत साउनदेखि असोज मसान्तसम्म जिल्लामा एक हजार ८७१ जनाले नयाँ नागरिकता बनाउँदा तीन हजार ४१२ जनाले विद्युतीय राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारीसमेत रहनुभएका शर्माकाअनुसार पछिल्लो तीन महिनामा ९५९महिलाले नयाँ नागरिकता बनाएका छन् ।

Advertisement

त्यस्तै ८८२ जना पुरुषले नयाँ नागरिकता लिएका शर्माले बताउनुभयो । यही अवधिमा जिल्लामा एक हजार ९४९ जना पुरुष, एक हजार ३४५ महिला तथा १२१ नाबालकले विद्युतीय राहदानी लिएका शर्माले जानकारी दिनुभयो । जिल्लावासीले वैदेशिक अध्ययन, रोजगारी तथा घुम्न जानका लागि राहदानी बनाउने गरेका उल्लेख गर्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जिल्लाबाट राहदानीको फारम भर्ने र चाँडो आवश्यक पर्नेलाई काठमाडौँ पठाउने गरिएको बताउनुभयो ।

गत असोज मसान्तसम्म जिल्लाबाट एक हजार ३३१ पुरुष तथा एक हजार २४८ महिला गरी दुई हजार ५७९ जनाले नागरिकताको प्रतिलिपि लिएका उहाँको भनाइ छ । त्यस्तै ५०० जना जिल्लावासीको नागरिकता स्क्यान गरी नागरिकताको अभिलेख डिजिटाइजेसन गरिएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री