शुक्रबार, १४ वैशाख २०८१

निर्जीवन बिमा कम्पनीको नाफा ४० प्रतिशतले बढ्यो,१५ कम्पनीले कमाए २ अर्ब १५ करोड 

समयपोष्ट २०७३ भदौ ८ गते ३:३८

गत आर्थिक वर्ष ०७२र७३ मा निर्जीवन बिमा कम्पनीहरूको खुद नाफा करिब ४० प्रतिशतले बढेको छ । १५ निर्जीवन बिमा कम्पनीहरूले प्रकाशित गरेको गत आवको चौथो वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीहरूले २ अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका हुन् ।
अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा १ अर्ब ५३ करोड रुपैयाँ थियो । गत आव कम्पनीहरूको लगानी तथा कर्जाबाट हुने आय घटे पनि जोखिमबापतको ठूलो रकम फिर्ता भएपछि नाफा बढेको देखिएको हो ।
गत वर्षको भूकम्पपछि पनि बिमा कम्पनीहरूको खुद नाफा बढ्दो क्रममै थियो । भूकम्पपछिको नाकाबन्दी लगायतका विषम परिस्थितिमा पनि कम्पनीहरूको नाफा आर्जन गर्न ठूलो उपलब्धि भएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले बताए । 
कम्पनीहरूको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा लगानी तथा कर्जाबाट हुने आय ४१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीहरूले यो शीर्षकमा जम्मा ५० करोड ८६  लाख रुपैयाँ आय गरे । अघिल्लो आवमा यस्तो आय ८६ करोड ५३ लाख थियो ।
समग्रमा खुद नाफा बढाउन जोखिमबापत व्यवस्था गरेको ठूलो रकम फिर्ता हुनुले योगदान गरेको  छ । गत आवमा ३ करोड १७ लाख रुपैयाँ व्यवस्था फिर्ता भएको छ । यो रकम अघिल्लो आवको तुलनामा ९४ प्रतिशतले बढी हो । 
कम्पनीहरूको व्यवस्थापन खर्च भने सामान्य बढेको देखिन्छ । गत आवमा कम्पनीहरूले १६ करोड ८४ लाख व्यवस्थापनमा खर्चिए जुन अघिल्लो आवको तुलनामा करिब १४ प्रतिशतले बढी हो ।
आव ०७१र७२ मा कम्पनीहरूले १४ करोड ७८ लाख रुपैयाँ खर्च गरेका थिए । गत आवमा बिमा कम्पनीले बोनसका लागि ३० करोड ८९ लाख रकम विनियोजन गरेको देखिएको छ ।  
गत आवमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ३१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा करिब ४१ प्रतिशतले बढी हो । शिखर इन्स्योरेन्सले अगिल्लो आवमा पनि सबैभन्दा बढी नाफा आर्जन गरेको थियो  ।
गत आवमा खुद नाफा धेरै बढाउने कम्पनीमा युनाइटेड इन्स्योरेन्स पनि अग्रपंक्तिमा छ । उक्त कम्पनीले गत आवमा ८ करोड २५ लाख मुनाफा आर्जन गरेको छ ।
अघिल्लो आवमा भने ५३ लाख ६८ हजार रुपैयाँ थियो । एभरेस्ट इन्स्योरेन्स, हिमालयन जनरलन इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनीको खुद मुनाफा भने घटेको छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री