बुधबार, १२ वैशाख २०८१

‘योजना कार्यान्वयन गरे आर्थिक समृद्धिको जग बस्छ ’

समयपोष्ट २०७३ भदौ ५ गते १३:१२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले गरेका संकल्प र बनाएका योजना मात्रै कार्यान्वयन गर्ने हो भने पनि देशमा सुशासन र आर्थिक समृद्धिको जग बस्ने बताएका छन् ।
आइतबार सार्वजनिक खरिद अनुगमन कार्यालयको दशौं स्थापना दिवस तथा वार्षिक प्रतिवेदन सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै उनले भने ‘हामी विश्लेषण राम्रै गर्छाैं, निष्कर्ष राम्रै निकाल्छौं । निर्णय पनि राम्रो हुन्छ । तर, परिणाम त्यससँग तालमेल मिलेको हुँदैन । राज्यका सबै संयन्त्रको अन्तिम गोल राष्ट्रको विकास र प्रगति नै हो । हामी आफैले गरेका संकल्प र बनाएका योजना मात्रै प्रभावकारी ढंगले कार्यान्वयन गर्न सक्ने हो भने पनि देशमा सुशासन र समृद्धिको जग बस्न सक्छ ।’
सो अवसरमा प्रधानमन्त्रीले विकास निर्माण र सार्वजनिक सेवाका क्षेत्रमा जनताको तहबाट गरिएका गुनासा र टिकाटिप्पणीलाई गम्भीरतापूर्वक लिन निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘नागरिक तहबाट हुने आलोचना र टिप्पणीलाई चनाखो भएर हेर्न जरुरी छ । गम्भीर आत्मसमीक्षा गर्न जरुरी छ । हाम्रा गलत संस्कार र बेथितिहरु अहिले पनि कायमै छन् । हाम्रा कामहरु हिजोको भन्दा गुणस्तर, पारदर्शी र समयमै सम्पन्न हुन्छन् कि हुँदैनन्, यसमा जिम्मेवार भएर समीक्षा गर्न जरुरी छ ।’
प्रधानमन्त्रीले सरकार आफ्नो प्राथमिकता किटान गरेर अगाडि बढेको जानकारी गराउँदै त्यसलाई गम्भीरतापूर्वक लिन र परिणाम निकाल्न निर्देशन गरे । समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गुणस्तरीय काम समयमै सम्पन्न गर्नु अहिलेको मूख्य चुनौति भएको भन्दै त्यसका लागि जिम्मेवार भएर लाग्न कर्मचारीहरुलाई आग्रह गरे । 
समारोहमा नेपाल सरकारका मूख्य सचिव डा. सोमलाल सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका लगायतका वक्ताहरुले सार्वजनिक खरिद प्रक्रिया पारदर्शी, द्रुत र गुणस्तरीय बनाएर सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिए  ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री