शुक्रबार, ७ वैशाख २०८१

मन्त्रीका हावादारी गफ : दशैंमा नआउने भयो मेलम्ची

समयपोष्ट २०७५ भदौ १३ गते ३:३१

मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो ।

Advertisement

उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसलाई छिट्टै सम्पन्न गर्ने भाषण गरेर सर्वसाधारणलाई भ्रममा पार्न भने छाडेनन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

जनयुद्ध लडेर आएकी बहालवाला खानेपानीमन्त्री बिना मगरले पनि आफ्नो कार्यकालको लोकप्रिय नारा मेलम्चीलाई नै देखिन् । र, मन्त्री पद सम्हालेको केही दिनमै भन्न थालिन् ‘यो दशैँसम्म त मेलम्ची आउँछ ।’ तर उनको भाषण आधारहीन र हावादारी हुँदै जान थालेको उनी आफैँलाई महसूस भएको छ । किनकि यो दशैँमा पनि उपत्यकावासीले मेलम्ची पानीले चोखिने सम्भावना छैन ।

मंगलबार प्रतिनिधिसभाको बिकास तथा प्रविधि समितिको बैठकमा पटक–पटक सोधिएको प्रश्नमा मन्त्री मगरले मेलम्ची दशैँमा आउँछ भनेर भन्न सकिनन् ।

बरु विषयवस्तुलाई अन्यत्र मोड्दै उनले आफू मन्त्री भएपछि मेलम्ची ल्याउन दिनरात खटिएको दावी गरिन् । अघिका मन्त्रीले काम नगरेकाले मेलम्ची ल्याउन अझै समय लाग्ने बताउँदै मन्त्री मगरले समस्या खानेपानी ऐनतिर तेस्र्याइन् ।

दशैँमा मेलम्ची नआउने

यसपालिको दशैंमा मेलम्चीको पानी पिउने काठमाडौँबासीको सपना अहिले पनि हावाले उडाएर लाने भएको छ । खानेपानी मन्त्रीदेखि सरोकारवाला सचिवसम्मले दशैँमै पानी आउँछ भनेर पटक पटक भनिरहे पनि अझै थुप्रै काम बाँकी रहेकाले यो चाहना पूरा नहुने मजदूरहरूले बताएका छन् ।

सुरुङ गत चैतमै छिचोलिए पनि त्यहाँ फिनिसिङको काम बाँकी नै छ । सुरुङमा अहिले ढलानको काम भैरहेको छ । २७ किम सुरुङमध्ये अहिलेसम्म १० किमि मात्रै ढलान भएको छ । अहिले दैनिक ५०÷६० मिटरको दरले सुरुङ ढलान भइरहेको छ ।

यही गतिमा सुरुङ ढलान हुँदा पनि सबै काम सकिन अझै साँढे पाँच महिना लाग्ने प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री