शुक्रबार, ७ कार्तिक २०८२

मदुरोको अमेरिकालाई आग्रह — ‘कृपया, पागल युद्ध नगर्नुहोस् !

समयपोष्ट २०८२ कार्तिक ७ गते १२:०६

Advertisement

वासिङ्टन र काराकासबीचको बढ्दो तनावका बीच भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले बिहीबार अमेरिकालाई सम्बोधन गर्दै अङ्ग्रेजी भाषामा एक निवेदन जारी गर्नुभएको छ — “कृपया, पागल युद्ध नगर्नुहोस् !”

राष्ट्रपति मदुरोको यस टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकी राष्ट्रविरुद्ध गोप्य कारबाहीको अनुमति दिएको खुलासा भएको केही दिनमै आएको हो । अमेरिकाले हालै क्यारिबियन र प्रशान्त क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण गर्ने नाममा आफ्नो सैन्य उपस्थितिमा तीव्रता ल्याएको छ ।

मदुरोले वामपन्थी नेताहरू र मजदुर सङ्गठनका प्रतिनिधिहरूसँगको बैठकमा भन्नुभयो, “हो, शान्ति — सधैँ शान्ति । पागल युद्ध नगर्नुहोस्, कृपया !”

संयुक्त राज्य अमेरिकाले लागु पदार्थ नियन्त्रण अभियानका लागि स्टिल्थ युद्धक विमान र नौसेना जहाजहरू तैनाथ गरेको जनाएको छ । तथापि, अमेरिकी अधिकारीहरूले हालसम्म ती कारबाहीहरू लागु पदार्थ तस्करी विरुद्धकै थिए भन्ने ठोस प्रमाण सार्वजनिक गर्न सकेका छैनन् । एएफपीका अनुसार सेप्टेम्बर २ देखि सुरु भएको अमेरिकी आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

Advertisement

भेनेजुएलाका राष्ट्रपति मदुरोले अमेरिकामाथि आफ्नो शासन परिवर्तन गर्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “हामीलाई थाहा छ, सिआइए भेनेजुएलामा उपस्थित छ । उनीहरूले गोप्य अपरेसनहरूमा संलग्न एकाइहरू पठाएका छन्, तर उनीहरूको कुनै पनि प्रयास असफल हुनेछ ।”

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले पनि क्यारिबियन क्षेत्रमा अमेरिकी सैन्य तैनाथीको प्रतिक्रियामा आफ्नो तटमा आयोजित सैन्य अभ्यासको निरीक्षण गर्दै ती कारबाहीलाई ‘उत्तेजनात्मक कदम’ भएको टिप्पणी गर्नुभयो ।

यसैबीच, त्रिनिडाड एन्ड टोबागोको सरकारले एक अमेरिकी युद्धपोत अक्टोबर २६ देखि ३० सम्म यसको राजधानीमा डक हुने घोषणा गरेको छ । त्यहाँ अमेरिकी मरीन टोलीले त्रिनिडाडका सैनिकहरूसँग संयुक्त अभ्यास गर्नेछ । अमेरिकी आक्रमणमा मारिएका दुई जना त्रिनिडाड एन्ड टोबागोका नागरिक भएको पनि पुष्टि गरिएको छ ।

गत हप्ता राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध सिआइएलाई गोप्य कारबाहीको अनुमति दिएको र भूमिगत लागु औषध गिरोहहरू विरुद्ध आक्रमण गर्ने विचार गरिरहेको बताउनुभएको थियो । उहाँले मदुरोलाई ‘लागुऔषध गिरोहको नेतृत्वकर्ता’ भनेर आरोप लगाउनुभएको थियो । उक्त आरोपलाई मदुरोले पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ ।

विशेषज्ञहरूले भने अन्तर्राष्ट्रिय पानीमा प्रमाणबिना घातक बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानूनविपरीत हुने चेतावनी दिएका छन् । तिनीहरूको भनाइमा, यस्तो कदमले क्षेत्रीय स्थायित्व र शान्तिमा थप अस्थिरता निम्त्याउन सक्छ ।(रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री