आइतबार, २ कार्तिक २०८२

मृगौला प्रत्यारोपण गरेका जैसीको प्रेरणादायी कथा

समयपोष्ट २०८२ भदौ १३ गते १२:३१

Advertisement

सुर्खेतका दिपक राज जैसी, अहिले ४२ वर्षका भए। तीन वर्षअघि उनको जीवनमा अप्रत्यासित मोड आयो। सामान्य टाउको दुखाइबाहेक उनलाई कुनै स्वास्थ्य समस्या थिएन। हट्टाकट्टा, चिटिक्क परेका, कहिल्यै केही नहोला जस्ता देखिने दिपक बुटवलको एक चिरपरिचित होटलमा म्यानेजरको रूपमा काम गर्थे। टाउको दुख्दा निम्स र सञ्चो खान्थे, र दिन बितिरहेका थिए। तर, जब औषधिले काम गर्न छोड्यो, उनले आफ्नो स्वास्थ्य जाँच गराए। जाँचको नतिजाले उनलाई स्तब्ध बनायो—उनको मृगौलामा खराबी देखियो।

“मलाई विश्वासै लागेन। मैले त सोचेकै थिइनँ कि यस्तो हुन सक्छ,” दिपक सम्झिन्छन्। उनका साथीभाइ र परिवारले पनि सुरुमा पत्याएनन्। तर, सत्यलाई नकार्न सकिँदैनथ्यो। मृगौलामा गम्भीर समस्या भएको पुष्टि भएपछि उनको जीवनमा ठूलो चुनौती आइलाग्यो। डाक्टरहरूले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताए। यो खबरले दिपक भावविह्वल भए, तर रोएर मात्र समाधान हुने थिएन। उनले मन बुझाएर अगाडि बढ्ने निधो गरे।

दिपकले पहिले बीर अस्पतालमा जाँच गराए, जहाँ मृगौलामा समस्या भएको पुष्टि भयो। पत्यार नलागेर उनी शिक्षण अस्पताल महाराजगञ्ज पुगे। त्यहाँ पूर्ण जाँच गर्न चार महिना लाग्ने भएपछि उनी वनस्थलीको नेशनल किड्नी सेन्टर पुगे। उपचारका क्रममा उनलाई कोरोनाको दोस्रो लहरमा संक्रमण भयो। जाँचमा उनको क्रेटिनिन स्तर उच्च देखियो, र तुरुन्त डायलाइसिस गर्नुपर्ने अवस्था आयो। केही समय डायलाइसिस गरेपछि उनको मृगौला प्रत्यारोपणको तयारी सुरु भयो।

यो कठिन घडीमा दिपककी ६६ वर्षीया आमाले उनलाई मृगौला दिने निर्णय गरिन्। “आमाको यो त्याग म कहिल्यै बिर्सन सक्दिनँ,” दिपक भन्छन्। भक्तपुरको शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डाक्टर पुकार चन्द्र श्रेष्ठको टिमले उनको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गर्‍यो।

Advertisement

उपचारका क्रममा दिपकले खुमलटारको सुमेरु अस्पतालमा पनि उपचार गराए। मृगौला प्रत्यारोपणका लागि १५ लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने भएपछि उनले आफ्नो आर्थिक अवस्था डाक्टर ऋषि कुमार काफ्लेलाई सुनाए। डाक्टर काफ्लेले उनलाई मानव अंग प्रत्यारोपण केन्द्र र केन्द्रका निर्देशक समेत रहेका डाक्टर पुकार चन्द्र श्रेष्ठसँग सम्पर्क गर्न सुझाए। यो सुझावले दिपकको जीवनमा नयाँ आशा ल्यायो।

प्रत्यारोपणपछि पनि डाक्टर पुकार र उनको टिमले दिपकको स्वास्थ्य अवस्थाबारे नियमित चासो राखे। डाक्टर पुकार, डाक्टर कल्पना श्रेष्ठ र डाक्टर सुमित आचार्यको पारिवारिक व्यवहारले दिपकलाई निको हुने ठूलो प्रेरणा मिल्यो। “अस्पतालको वातावरण र डाक्टरहरूको व्यवहारले मलाई छिट्टै निको भएको महसुस भयो,” दिपक भन्छन्।

मृगौला प्रत्यारोपणपछि दिपक फेरि आफ्नो पुरानै काममा फर्किए। उनी अहिले पनि सुर्खेतको एक होटलमा म्यानेजरको रूपमा सक्रिय छन्। नियमित औषधि सेवन गर्दै उनी स्वस्थ जीवन बिताइरहेका छन्। उनको स्वास्थ्यमा कुनै समस्या छैन। उनकी आमाले पनि एक मृगौला दान गरेर स्वस्थ जीवन बिताइरहेकी छिन्। खेतीपातीमा उनी पहिलेजस्तै सक्रिय छिन्।

दिपकको उपचारमा करिब ४० देखि ४५ लाख रुपैयाँ खर्च भयो। यो रकम ठूलो भए पनि उनले हिम्मत हारेनन्। “जीवन अमूल्य छ। मलाई मेरो परिवार, डाक्टरहरू र अस्पतालको सहयोगले नयाँ जीवन प्राप्त भएको छ,” उनी भन्छन्।

“म डाक्टर पुकार र उनको टिमप्रति सधैं कृतज्ञ रहनेछु। उहाँहरूले मलाई नयाँ जीवन दिनुभयो,” दिपक भन्छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री