नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापना हुने, दक्षिण कोरियाली कम्पनीसँग सम्झौता
नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जी–फिलोस कम्पनी लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सम्झौताले नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोलेको छ।
लगानी बोर्डको कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जी–फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गावु पार्कले समझदारीपत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार, जी–फिलोस कम्पनीले सर्वेक्षण अनुमति प्राप्त गरेपछि १० महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डमा पेस गर्नेछ। यो प्रतिवेदनले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको प्राविधिक र आर्थिक सम्भाव्यताको स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै यस्ता परियोजनाले नेपालको दिगो विकास लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले यो परियोजनाले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धमा नयाँ आयाम थप्ने उल्लेख गरे।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यो परियोजनाले पूँजी र प्रविधिको आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले अध्ययन प्रतिवेदन प्राप्त भएपछि यथाशीघ्र ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता जनाए।
जी–फिलोस कम्पनीले २०८२ वैशाख १५ मा सार्वजनिक–निजी साझेदारी मोडलमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो। लगानी बोर्डको ६३औँ बैठकले उक्त प्रस्तावलाई अगाडि बढाउँदै कम्पनीसँग समझदारी गर्ने निर्णय गरेको थियो।
कार्यक्रममा विद्युत नियमन आयोग, विद्युत विकास विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयका उच्च पदस्थ अधिकारी तथा अनुसन्धानकर्ताहरूको उपस्थिति थियो। उनीहरूले ग्रीन हाइड्रोजनको नीतिगत र कानुनी व्यवस्था, यसका बहुआयामिक लाभ र भविष्यमा उपयोगका विषयमा आ–आफ्नो धारणा राखेका थिए।
प्रतिक्रिया