युरो–६ मापदण्ड पूरा नगरेका सवारी साधन आयातमा प्रतिबन्ध
नेपाल राष्ट्र बैंकले युरो–६ मापदण्ड पूरा नगरेका सवारी साधनको आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ। राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी निर्देशनमा संशोधन गर्दै यस्ता सवारी साधनको आयातमा रोक लगाएको हो। यो नियम असार ९ गते वन तथा वातावरण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ लागू भएसँगै कार्यान्वयनमा आएको छ।
राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रमा भनिएको छ, “रिकण्डिसन, प्रयोग भइसकेको वा नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने सवारी साधन वा ढुवानीलगायत अन्य साधनहरू पैठारी गर्न पाइने छैन।” यसअघि यो वाक्यांशमा ‘नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२ भित्र नपर्ने’ भन्ने उल्लेख थिएन।
यो मापदण्ड नेपालमा उत्पादन, एसेम्बल वा आयात हुने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, हलुका चार पाङ्ग्रे लघु सवारी साधन, कम्तीमा चार पाङ्ग्रा भएको सवारी साधन र तिनका पार्टपुर्जामा लागू हुनेछ। तर, ट्र्याक्टर, पावर टिलर, डोजर, क्रेन, रोलर, एक्सक्याभेटरजस्ता निर्माण उपकरण र रक्षा मन्त्रालयको सिफारिसमा आयात हुने सैनिक प्रयोजनका विशेष सवारी साधनमा यो मापदण्ड लागू हुने छैन।
नयाँ मापदण्डअनुसार, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र हलुका चार पाङ्ग्रे सवारी साधनमा युरो–५ र कम्तीमा चार पाङ्ग्रा भएका सवारी साधनमा युरो–६ मापदण्ड अनिवार्य गरिएको छ। यी सवारी साधनले युरोपका लागि संयुक्त राष्ट्र सङ्घीय वित्त आयोगबाट सिफारिस भएको समानस्तरको प्रदूषण परीक्षण विधि पूरा गर्नुपर्नेछ।
युरो–६ मापदण्डअनुसारका सवारी साधनले कम धुवाँ फाल्ने र इन्धन खपत कम गर्ने भएकाले वातावरण संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। भारतमा यो मापदण्डलाई ‘भारत ६’ को रूपमा यसअघि नै लागू गरिसकिएको छ।
प्रतिक्रिया