नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ : बैंकहरूलाई सवारी कर्जा विस्तारको अवसर
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) द्वारा बुधवारदेखि आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ ले बैंकहरुलाई सवारी साधन कर्जा (हायर पर्चेज कर्जा) विस्तारलाई अवसर दिएको छ ।
बैंकहरूमा प्रशस्त तरलता र घट्दो ब्याजदरको अवस्थाले यो एक्स्पोलाई सवारी कर्जा प्रवाहको अवसर बनाएको हो ।
हाल बैंकहरूको आधार दर (बेस रेट) औसत ६ प्रतिशत छ, जुन विगत ५ वर्षकै सबैभन्दा कम हो। यसले गर्दा एकल अंकको ब्याजदरमा सवारी कर्जा उपलब्ध भइरहेको छ। बैंकहरूले बेस रेटमा ०.२५ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रदान गरिरहेका छन्।
२०८२ जेठ मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले १ खर्ब १५ अर्ब ७ करोड रुपैयाँ बराबरको हायर पर्चेज कर्जा प्रवाह गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो।
ग्लोबल आईएमई बैंकले १५ अर्ब ६८ करोड रुपैयाँको हायर पर्चेज कर्जा प्रवाह गरेर शीर्ष स्थान कायम गरेको छ। गत वर्ष १३ अर्ब ८१ करोडको कर्जा प्रवाह गरेको यो बैंकले १.५ देखि ३.५ प्रतिशत प्रिमियममा कर्जा प्रदान गरिरहेको छ।
नबिल बैंकले ११ अर्ब २६ करोड रुपैयाँको कर्जा प्रवाह गरेको छ, जसले बेस रेटमा २ देखि ४ प्रतिशत प्रिमियम थपेर कर्जा उपलब्ध गराइरहेको छ। राष्ट्रिय वाणिज्य बैंकले ९ अर्ब २७ करोड रुपैयाँको सवारी कर्जा प्रवाह गरेको छ।
एभरेष्ट बैंकले गत वर्षको तुलनामा सबैभन्दा धेरै कर्जा वृद्धि गरेको छ, जसले गत वर्ष ३ अर्ब ४८ करोडको कर्जा प्रवाह गरेकोमा यस वर्ष ७ अर्ब ६ करोड पुर्याएको छ।
कृषि विकास बैंकले ४ अर्ब ४२ करोड, नेपाल बैंकले २ अर्ब ५५ करोड, सानिमा बैंकले ५ अर्ब ७८ करोड, एनएमबी बैंकले ६ अर्ब ७२ करोड, हिमालयन बैंकले ६ अर्ब ६२ करोड, प्राइम कमर्सियल बैंकले ५ अर्ब ९७ करोड, प्रभु बैंकले ५ अर्ब ७२ करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब १४ करोड रुपैयाँ बराबरको सवारी कर्जा प्रवाह गरेका छन्।
५ अर्बभन्दा कम हायर पर्चेज कर्जा प्रवाह गर्ने बैंकहरूमा कुमारी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एसिया बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम कर्जा प्रवाह गरेको छ।
गत वर्षको तुलनामा हायर पर्चेज कर्जा वृद्धि गर्ने बैंकहरूमा एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, सानिमा बैंक, एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, नबिल बैंक र प्राइम कमर्सियल बैंक छन्। यता, एनआईसी एसिया बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकले कर्जा प्रवाहमा कमी ल्याएका छन्।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ ले बैंकहरूको सवारी कर्जा विस्तारमा थप टेवा पुर्याउने अपेक्षा गरिएको छ। सस्तो ब्याजदर र प्रशस्त तरलताले उपभोक्ताहरूलाई सवारी साधन खरिदका लागि कर्जा लिन प्रोत्साहित गर्ने देखिन्छ।
प्रतिक्रिया