सोमबार, १९ साउन २०८२

बढ्यो नेप्से, घट्यो कारोबार रकम

समयपोष्ट २०८२ साउन १९ गते १५:५६

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.६५ अंकले बढेर २८७५.५५ विन्दुमा पुगेर बन्द भएको छ।

यद्यपि, नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ। आइतबार १३ अर्ब ७ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा सोमबार ३२५ कम्पनीका १ लाख ४९ हजार २७४ पटकको कारोबारमा १० अर्ब ९२ करोड २४ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड ७१ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ५.७३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। यस्तै, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले वृद्धि भएको छ। तर, पछिल्ला १२ कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै आएको ट्रेड टावरको शेयरमूल्य भने सोमबार नकारात्मक सर्किट लेभलमा झरेको छ। उक्त कम्पनीको शेयरमूल्य ११४ रुपैयाँ ८० पैसाले घटेर १ हजार ३३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकममा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ, जसको ५५ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शिवम् सिमेन्ट्सको ४३ करोड ५० लाखभन्दा बढी र हिमालयन डिष्टिलरीको ३७ करोड ५० लाखभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये ७ वटाको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ। व्यापार उपसमूहको परिसूचक २.९० प्रतिशतले सबैभन्दा धेरै बढेको छ। बैंकिङ उपसमूहको परिसूचक १.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री