नेपाली खाद्य प्रयोगशालालाई ८१४ सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता, खाद्यवस्तु निर्यातमा नयाँ कोसेढुंगा
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) मा उल्लेखनीय सफलता हासिल गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रयोगशालाले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी १७०२५:२०१७ अनुसार ८१४ परीक्षण सूचकांकमा प्रत्यायन बोर्ड (एनएबीएल) बाट मान्यता प्राप्त गरेको हो।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार यो उपलब्धिसँगै नेपालको सरकारी प्रयोगशालामध्ये सबैभन्दा धेरै परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयोगशालाका रूपमा राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला स्थापित भएको छ। यसअघि ३८६ सूचकांकमा मात्र प्रत्यायन प्राप्त भएकोमा हाल यो संख्या ८१४ पुगेको छ।
यो मान्यताले नेपालमा उत्पादित २२ खाद्य समूहका ८१४ खाद्यवस्तु भारतबाहेक अन्य देशमा समेत विनाअवरोध निर्यात गर्न सकिने भएको छ। भारत सरकारको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले पनि नेपालको यो प्रयोगशालाबाट जारी हुने विश्लेषण प्रमाणपत्र र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई औपचारिक मान्यता प्रदान गरेको छ।
भारतले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, मिठाई, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी र फलफूल गरी ८ प्रकारका खाद्यवस्तुको विश्लेषण प्रमाणपत्रलाई मान्यता दिएको छ। एफएसएसएआई र एनएबीएलको संयुक्त मूल्यांकनपछि विभागले ६८० परीक्षण सूचकांकमा एकीकृत प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको छ, जसले नेपाली खाद्य तथा कृषिजन्य वस्तुको भारत निर्यातलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
विभागका अनुसार सन् २०१२ मा २७ रासायनिक परीक्षण सूचकांकबाट सुरु भएको प्रत्यायन प्रक्रिया २०२३ सम्ममा २८६ सूचकांकमा विस्तार भएको थियो। सन् २०२५ मा यो संख्या बढेर ६७२ रासायनिक र १४२ सूक्ष्म जीवसम्बन्धी सूचकांकसहित कुल ८१४ पुगेको छ। खाद्यमा प्रयोग हुने थप पदार्थ, विषादी अवशेष, कृत्रिम गुलियो पदार्थ, खाद्य रङ, परिरक्षक, भिटामिन, धातु, विषालु धातु र अफ्लाटक्सिनजस्ता १२३ नयाँ सूचकांकमा प्रत्यायन विस्तार गरिएको छ।
यसैगरी, विराटनगरस्थित विभागको क्षेत्रीय खाद्य प्रयोगशालाले पनि ४६ परीक्षण सूचकांकमा प्रत्यायन विस्तारका लागि प्रक्रिया अघि बढाएको प्रवक्ता महर्जनले बताए।
प्रतिक्रिया