हुम्लामा ११०.२ मेगावाटको माथिल्लो चुवालुरुप्या जलविद्युत आयोजना बन्ने, लागत पौने २३ अर्ब

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा ११०.२ मेगावाट क्षमताको माथिल्लो चुवालुरुप्या जलविद्युत आयोजना निर्माण हुने भएको छ। यो पिकिङ रन अफ रिभर प्रकारको आयोजना नेपाल पोर्टफोलियो एनर्जी प्रालि र मलेसियन कम्पनी ओएचपी नेपाल इनकर्पोरेटेडको संयुक्त लगानीमा अघि बढाइएको हो।
२०७६ मंसिर २९ गते १०३ मेगावाट क्षमताको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको यो आयोजनाको विस्तृत अध्ययनपछि उत्पादन क्षमता ११०.२ मेगावाटमा वृद्धि गरिएको छ। सन् २०२५ मार्चमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन मन्त्रालयमा बुझाइएको थियो। आयोजनाको कुल निर्माण लागत २२ अर्ब ८५ करोड रुपैयाँ अनुमान गरिएको छ।
आयोजनाले चुवा खोला र लुरुप्या खोलाको पानी उपयोग गर्नेछ। चुवा खोलामा ३४.६ मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण गरी ७ लाख ३८ हजार घनमिटर पानी संचित गरिनेछ। लुरुप्या खोलामा २० मिटर लामो र ७ मिटर अग्लो बाँध बनाइनेछ।
हेडरेस सुरुङको लम्बाइ २,८३१ मिटर हुनेछ। चुवा र लुरुप्या खोलाको पानी ल्याउने सुरुङहरू एक ठाउँमा जोडिएर १०२ मिटर लामो सुरुङमार्फत विद्युतगृहमा पुर्याइनेछ। सिमकोट गाउँपालिका-१, मुग्रिकमा निर्माण हुने विद्युतगृहमा ३ वटा टर्बाइन रहनेछन्।
बाँध र अन्य संरचनासम्म पुग्न ९.६ किमी सडक निर्माण गरिनेछ।
आयोजनाबाट वार्षिक ६१७.२८ गिगावाटघण्टा विद्युत उत्पादन हुने लक्ष्य छ। उत्पादित विद्युत मुगु हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। निर्माण अवधि ४ वर्ष तोकिएको छ। निर्माण अवधिमा ६१० जनाले रोजगारी पाउनेछन्। आयोजनाका लागि ७५७ रुख कटान गर्नुपर्नेछ र १८.१३ हेक्टर वनजंगल प्रयोग हुनेछ।
११ करोड ४३ लाख रुपैयाँको सामुदायिक सहयोग कार्यक्रममार्फत स्थानीय विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, र सुरुङखेतीजस्ता पूर्वाधार निर्माण गरिनेछ।




























प्रतिक्रिया