नेपाल लाइफद्वारा चेतनामूलक भिडियो सार्वजनिक
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूको बीमालेखको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने उद्देश्यले अत्यन्तै मर्मस्पर्शी जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ। “किनकी जीवन अमुल्य छ” भन्ने मुल नारालाई आत्मसाथ गर्दै, नेपाल लाइफले २३ वर्षदेखि नेपालीहरूको घर-घरमा जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको छ।
यो भिडियोमा जीवन र जीवन बीमा योजनाको महत्वलाई दर्शाउँदै, भविष्यमा आइपर्न सक्ने अकल्पनीय दुर्घटनाका कारण कसरी एक सम्पन्न र सुखी परिवार आर्थिक अभावको पिडाबाट गुज्रिन सक्छ भन्ने कुरा देखाइएको छ। मुख्य पात्रको भुमिकालाई अलि पृथक तरिकामा प्रस्तुत गरिएको भिडियोमा, उनका मनको व्यथा संगीत मार्फत व्यक्त गरिएको छ। काल्पनिक दृश्यमा देखाइएको अवस्थाबाट कसैको पनि वास्तविक जीवन प्रभावित नहोस् भन्ने कामना गर्दै नेपाल लाइफले जीवन बीमा गरेर सुरक्षित, सुनिश्चित, र सुनौलो भविष्यको बाटो हिँड्न र जीवन बीमा योजनालाई बीचमै सरेन्डर नगर्न विशेष आग्रह गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जनचेतनाको अभावका कारण धेरैजसो मानिसले बीमा सरेन्डर गरेको पाइएका कारण यो भिडियो सार्वजनिक गरिएको बताउनुभयो। उहाँले गाह्रोसाह्रो पर्दा अन्य साधनहरू उपलब्ध रहेकाले आफ्नो सुरक्षित जीवनलाई असुरक्षित बनाउने काम नगर्न सबैलाई आग्रह गर्नुभयो। आगामी दिनहरूमा पनि बीमाको सचेतना अभिवृद्धि गर्न विभिन्न चेतनामूलक कार्यक्रमहरूको सञ्चालन गर्ने प्रतिबद्धता नेपाल लाइफले व्यक्त गरेको छ।
प्रतिक्रिया