मंगलबार, २५ वैशाख २०८१

दुखुलेकमा विद्युतीकरण अधुरै

समयपोष्ट २०७९ भदौ ११ गते २०:०१


म्याग्दीको मालिका गाउँपालिका–६ दुखुलेकमा खम्बा गाडेको दुई वर्षसम्म पनि केन्द्रीय लाइनको बिजुली बलेको छैन । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रसारण लाइन, ३३/११ केभी क्षमताको रातोढुङ्गा सवस्टेशन र आसपासका तीन वटा वडामा विद्युतीकरण गर्न सन् २०१६ मा आयोजना सुरु गरेको थियो ।

Advertisement

दुखुलेकका ओमकार रोकाले खम्बा गाडेको दुई वर्ष भए पनि बिजुली नबलेको बताउनुभयो । “दुई वर्षदेखिको बिजुली बाल्ने सपना साकार भएको छैन”, उहाँले भन्नुभयो, “उज्यालोका लागि बत्ती बाल्न, उद्यम व्यवसाय र घरायसी कामकाज प्रभावित भएको छ ।” एक सय दुई घरधुरीको बसोबास रहेको दुखुलेकका बासिन्दा छिमेकी गाउँमा केन्द्रीय लाइनको बिजुली बलेको हेर्दै लघु जलविद्युत्मा चित्त बुझाउन बाध्य छन् । मुख्य लाइनको खम्बा गाडेका ठेकेदार गत वैशाख महिनादेखि सम्पर्कविहीन रहेका मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।

“गत हिउँदमा तार तान्न थालेपछि बिजुली बल्ने आशा जागेको थियो”, उहाँले भन्नुभयो, “वैशाखदेखि काम गरेका छैनन् । सम्बन्धित कार्यालयमा ताकेता गरिरहेका छौँ ।” साठी वटाभन्दा बढी शाखा लाइनको खम्बा गाड्न, तार तान्न र ट्रान्सफर्मर जडान गर्न बाँकी छन् । वायरिङ र मिटरबक्स जडानको काम पनि हुन सकेको छैन ।

दुखुका साथै मालिका गाउँपालिका–१ निस्कोटको खहरे, रिठेचौर, साउँबोट, बाँसबोट, छिस, भट्टखोला, घोर्सी र वडा नं २ रुमका थप छ सय घरमा विद्युतीकरण गर्ने विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयले सञ्चालन गरेको योजना अधुरो छ । तीनवटै बस्तीका बासिन्दा लघुजलविद्युत् परियोजना नियमित सञ्चालन नहुने र केन्द्रीय लाइन विस्तारमा ढिलाइ हुँदा उज्यालोका लागि टुकी, दियालो र सोलारमा निर्भर हुनुपरेको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टु जेड इञ्जिनियरिङले करिब रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन, मिलनचोकदेखि २२ किलोमिटर प्रसारण लाइन, दुखु, निस्कोटको तल्लो क्षेत्र र रुममा विद्युतीकरण गर्ने काम २०१८ को डिसेम्बरमै सक्ने लक्ष्य थियो । बीस किलोमिटर दुरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि मिलनचोक सवस्टेशनदेखि तीन वटा फिडरबाट ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्तिको समस्या छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री