
७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना र ४५० मेगावाटको सेती नदी-६ आयोजना विकासका लागि एनएचपीसी लिमिटेडसँग सम्झौता भएको छ ।
बिहीबार लगानी बोर्डले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा यी दुवै परियोजनाको विस्तृत अध्ययनका लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न सम्झौता गरेको हो ।
समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा कार्यकारी निर्देशक अभयकुमार सिंहले हस्ताक्षर गरेका छन्।
प्रस्तावित ७५० मेगावाट जडित क्षमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत परियोजनाको कुल लागत लगभग १३२० मिलियन अमेरिकी डलर अनुमान गरिएको छ । यस्तै ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको अनुमानित लागत ८०० मिलियन अमेरिकी डलर रहेको छ ।
पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत परियोजना विकास गर्ने सम्बन्धमा अध्ययन गर्न गठित अध्ययन समितिको प्रतिवेदन तथा बोर्डको बैठकको निर्णयको आधारमा उक्त परियोजनाहरू कार्यान्वयन गर्न सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा २९ को उपदफा (२) बमोजिम स्वीकृत गरिएको थियो ।
सोहीअनुसार सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बोर्डको गत जेठ २३ गते बसेको बैठकले पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजना एनएचपीसीलाई दिने निर्णय गरेको थियो। मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेसँगै बोर्डले समझदारीपत्रमा हस्ताक्षर गरेको हो।
एनएचपीसी भारत सरकारको स्वामित्वको कम्पनी हो। जसले सोलार, हाईड्रो, वायु उर्जा गरि सात हजार मेगावाट बढी उत्पादन गरिसकेको छ। करिब पाँच हजार मेगावाटका आयोजना विभिन्न चरणमा निर्माण गरिरहेको छ।










प्रतिक्रिया