यी हुन् लगातार १० बैठकमा अनुपस्थित हुने पन्ध्र सांसद, कोही भारत, कोही अमेरिका

प्रतिनिधिसभाको लगातार १० वटा बैठकमा अनुपस्थित हुने सांसदहरूको नामावली सार्वजनिक भएको छ ।

Advertisement

सभामुख अग्नि सापकोटाले आजको संसद बैठकमा लगातार १० दिन वा सोभन्दा बढी समयसम्म गयल हुने सांसदहरुको नामावली प्रस्तुत गरेका हुन् ।

धेरै गयल हुने सांसदहरुमा भिमसेनदास प्रधान, प्रदीप गिरी, तुल्सी थापा, गंगा चौधरी, धर्मशिला चापागाईं, रघुविर महासेठ, जुली कुमारी महतो, शान्ता चौधरी, कर्मा घले छन् ।

यसैगरी सुरेश चन्द्र दास, शिवकुमार मण्डल, निर्जला राउत, नवराज रावत र विनोद कुमार चौधरी, नागेन्द्र कुमार पनि धेरै गयल हुने सांसदहरुको सूचीमा परेका छन् ।

सांसद भीमसेन दास प्रधान छोरीको दीक्षान्त समारोहमा सहभागी हुन अमेरिका पुगेका हुन्। उनले जेठ ३ गतेदेखि २१ गते सम्मको बिदा स्वीकृत गराएका हुन।

Advertisement

त्यस्तै, कुमारी तुलसी थापाले पनि अमेरिका जानको लागि बिदा स्वीकृति गराएकी थिइन्। सांसद दम्पती रघुवीर महासेठ र जुली महतो पनि उपचारको लागि अमेरिका गएका थिए। महासेठ र महतोले जेठ २५ गतेदेखि असार १२ गतेसम्मको लागि बिदाको निवेदन दिएका थिए।

त्यस्तै, शान्ता चौधरी पनि कार्यक्रममा सहभागी हुनका लागि भन्दै अमेरिका उडेकी थिइन्। उनले जेठ २६ देखि असार १० गतेसम्मको लागि बिदा स्वीकृत गराएकी थिइन्। सांसद नवराज रावत पनि निजी कामको लागि भन्दै भदौ २२ गतेसम्म अमेरिका जान बिदा लिएका हुन्।

यस्तै, सांसद प्रदीप गिरी उपचारको लागि भन्दै १० वटा बैठकमा उपस्थित भएका छैनन्। गङ्गा चौधरी पनि उपचारको लागि भनेर भारत जानको लागि बिदा लिएकी हुन्। उनले जेठ ३ गतेदेखि १५ गतेसम्म बिदा लिएकी थिइन्। सांसद सुरेश चन्द्र दास, शिवकुमार मण्डल र निर्जला रावतले अस्वस्थ भन्दै बिदा स्वीकृत गराएका हुन्।

उद्योगपति तथा सांसद विनोद चौधरीले व्यावसायिक कामको लागि देश बाहिर रहनुपरेको भन्दै तीन साताको लागि बिदा स्वीकृत गराएका छन्। सांसद धर्मशिला चापागाईँले घर बिदाको लागि बैठकमा उपस्थित हुन नसकेको जनाएकी थिइन्। सांसद कर्मा घले स्वास्थ्य उपचारको लागि भारत गएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री