शनिबार, १५ वैशाख २०८१

विद्युत प्राधिकरणको नाफा १६४ प्रतिशतले वृद्धि

समयपोष्ट २०७९ साउन २५ गते १८:१६

Advertisement

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा करिब १६४ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष (आव) २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको प्राधिकरणले आव २०७८/७९ मा नाफालाई बढाएर १६ अर्ब ९ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको आव २०७८/७९ को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । योसँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी भएको र नाफा आर्जन गर्ने संस्था प्राधिकरण बनेको छ ।

‘ऊर्जा खपत २७ प्रतिशत बृद्धि हुँदा बिक्री आम्दानी बढ्यो,विद्युत निर्यात बृद्धि भयो, प्राधिकरणका स्वामित्वका विद्युतगृहबाट विद्युत उत्पादन करिब १६ प्रतिशतले बृद्धि गर्न सफल भयौं, विद्युत चुहावट घट्यो, प्रभावकारी रुपमा खर्च नियन्त्रण गरियो, अन्य आम्दानी बढ्यो, यसले गर्दा प्राधिकरणको खुद नाफा बढेको हो’, कार्यकारी निर्देशक घिसिङले भने

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । आव ०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुर्याएको थियो । तर, आव २०७७/७८ मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुँदै गएपछि यसको प्रत्यक्ष सकारात्मक प्रभाव प्राधिकरणको वित्तीय अवस्थामा परेको घिसिङले बताए । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत महसुल संकलन विनियमावली बमोजिम समयमै महसुल तिर्ने ग्राहकलाई करिब ९८ करोड रुपैयाँ छुट दिइएको छ । यसबाट विद्युत बिक्रीबाट ८७ अर्ब खुद आम्दानी भएको छ, जुन अघिल्लो आवको तुलनामा २२ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री