मंगलबार, ६ चैत २०८०

यो देश हाम्रो पनि होइन र ?

समयपोष्ट २०७८ साउन १९ गते ७:२२

Advertisement

गायक प्रकाश सपुतले नयाँ गीत बनाएका छन्, ‘मेरो पनि हैन र ? यो देश’। यो गीत जसले नेपाली नागरिक भएर पनि नागरिक भएको महसुस गर्न पाएका छैनन्, उनीहरूप्रति समर्पित छ। गोरखाको उत्तरी भेगवासीले यो गीत सुन्न नपाएका पनि हुन सक्छन्। तर, गीतले भनेझैं अनागरिकजस्तो भएर बाँच्नुको पीडा कम दर्दनाक छैन।

चुमनुब्री गाउँपालिका–७ का नौ टोलका २ सय ४२ घरमा घरैपिच्छे बिरामी छन्। लक्षण कोरोनासँग मिल्दोजुल्दो छ। गाउँको स्वास्थ्य चौकीले उपचार गर्न सकेको छैन। बिरामीलाई धमाधम सदरमुकाम वा काठमाडौं लैजानुपर्ने अवस्था छ। तर, बाटो अवरुद्ध हुँदा घरेलु उपचार गराउँदै घरमै बस्न बाध्य रहेको वडाध्यक्ष पासाङ फुन्जो लामा बताउँछन्।
‘ज्वरो आउने, खोकी लाग्ने, ज्यान दुख्ने, रिंगटा लाग्ने व्यथाले म पनि सिकिस्त छु। गाउँभरि यस्तै छ’, वडाध्यक्ष लामा भन्छन्, ‘गहुँ काट्न मारामार छ। हेल्थ पोस्टका कर्मचारी पनि

मेलापातमा छन्। उपचार गर्न सदरमुकाम जान पाँच–६ दिन पैदल हिँड्नुपर्छ। बूढीगण्डकीले बगाएर बाटो छैन भन्छन्। हेलिकप्टर चार्टर गर्न खर्च छैन। बिजोग छ।’

वडा नम्बर २ मा खाद्यान्न सकिएको धेरै भयो। विगतमा चीनको तिब्बतबाट ल्याउने गरिएकामा दुई वर्षदेखि नाका ठप्प छ। सदरमुकामबाट लैजान बाढीपहिरोले दुई महिनादेखि बाटो अवरुद्ध छ। ‘गाउँमा समस्या छ। खै कसलाई भनौं ? जनप्रतिनिधि भएर पनि गुनासो गर्‍यो भन्लान्, लाज होला। बेथा कसलाई सुनाऔं ?’, वडाध्यक्ष पेम्बा रेता लामा भन्छन्, ‘राहत कोसित मागौं। राहतले पनि कति दिन टर्छ र ?’ वडा नम्बर ४ का क्वाक, छाक, प्रोकमा पनि खाद्यान्न अभाव छ। गाउँका कसैको घरमा चामल नरहेको वडाध्यक्ष पेमा डुन्डुप लामा बताउँछन्। ‘संकटै लागिसक्यो। सिस्नु र फाँडोले छाक टार्न थालेको धेरै भयो’, वडाध्यक्ष लामा भन्छन्, ‘कालले मर्न नपाइने भयो। अब भोकमरीले मर्नुपर्ने भयो।’ आफ्नो वडाका सबै पसलमा एक दाना पनि चामल नरहेको उनी सुनाउँछन्।

एक किलो नुनको २ सय ७५ रुपैयाँसम्म पर्ने गरेको चुमनुब्री–१ का वडा सदस्य मिङ्मार लामा बताउँछन्। ‘बाटोघाटो सबै बन्द छ। सबै सामान हेलिकप्टरले बोकेर ल्याउनुपरेको छ। हेलिकप्टरले प्रतिकिलो २ सय ५० का दरले पैसा लिन्छ’, वडा सदस्य लामा भन्छन्, ‘तलको बजारमा २५ रुपैयाँ प्रतिकिलो पर्ने नुनलाई यहाँ ल्याइपुर्‍याउँदा २५० रुपैयाँ हेलिकप्टर भाडा जोड्नुपर्‍यो। अलिकति व्यापारीले नाफा खान्छन्। अनि सस्तोमा पनि एक किलो नुनको २ सय ७५ रुपैयाँ परेन त ?’

वडा नम्बर ६ चुम्चेतका ६० घरमा पनि खाद्यान्न छैन। ‘भूकम्पको बेलाभन्दा अहिले पो बिजोग भयो’, वडाध्यक्ष लोप्साङ लामा भन्छन् ।’ खाद्य संस्थानले गाउँपालिकाभरिका लागि केही समयअघि डेढ सय क्विन्टल चामल हेलिकप्टरबाट ढुवानी गरी फिलिम डिपोमा गोदाम गरेको थियो। तर, बाँड्न नपुग्ने भएकाले लैजान नसकिएको वडाध्यक्ष लामा बताउँछन्। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री