
प्रदेश ५ का तीन जिल्लामा कोरोना संक्रमण टोल–टोलमा पुगेको छ। रुपन्देहीको बुटवल र देवदहमा समुदायस्तरमै संक्रमण फैलिएपछि स्थानीय त्रासमा छन्। कपिलवस्तुको तौलिहवा क्षेत्रमा यात्रा विवरण नै नभएका कैयौंमा संक्रमण देखिएको छ।
बाँकेमा पनि संक्रमण दर उच्च रुपमा बढेको छ। संक्रमितको संख्या ह्वात्तै बढेपछि ‘कन्ट्याक ट्रेसिङ’ गर्न कठिन भएपछि टोलभरी नै परीक्षण गर्नुपर्ने देखिएको छ। बुटवल– ११ र १३ मा कोरोना संक्रमितको संख्या बढेको छ। लक्षण देखिएका संक्रमित बढेपछि बुटवलको कोरोना विशेष अस्पतालमा जटिल प्रकृतिका बिरामीको संख्या बढेको छ।
बुधबार मात्रै बुटवलका १४ जनामा कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुको तौलिहवामा संक्रमितले बस्ने स्थानसमेत पाएका छैनन्। कपिलवस्तुमा संक्रमण पुष्टि भएका धेरै व्यापार व्यवसाय गर्दै आएका छन्। मासु, सुन, तरकारी पसल चलाउनेहरूमा संक्रमण देखिएको हो। संक्रमण पुष्टि भएका व्यवसायीले भने–‘घरमा छुट्टै बस्ने स्थान भएन, सरकारी अस्पतालमा बस्ने व्यवस्था भएन।’ संक्रमण उच्च भइरहेका बेला सीमाबाट निर्वाद आवतजावत जारी भए पनि निगरानी गरिएको छैन।
भारतबाट आउनेहरूबाट समाजमा संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ। यसअघि लकडाउनका बेला स्थानीय तहले क्वारेन्टाइन बस्ने नियमलाई कडाईका साथ पालना गरे पनि अहिले क्वारेन्टाइन बन्द छन्। विद्यालयबाट ती संरचना हटाउन संघीय सरकारले निर्देशन दिएको थियो। कतिपय स्थानीयतहले सार्वजनिक भवनमा आइसोलेसन बनाएका छन्। धैरै पालिकामा पूर्ववत अवस्थामा संरचना सञ्चालन गरिएको छैन।
तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे सीमा नाकामा पहिले जस्तै निगरानी बढाउन आवश्यक रहेको बताउँछन्। ‘सीमामा पूर्ववत कडाई गरौं, उनी भन्छन, ‘त्यहाँ आउनेहरूलाई सम्बन्धित पालिकाको परामर्शपछि मात्रै घर पठाउनुपर्छ।’ अहिले सीमाबाट आउनेहरू सोझै सार्वजनिक बस चढेर गन्तव्यमा जाने गरेका छन्। उनीहरु क्वारेन्टाइन बसे कि बसेनन् भन्ने निगरानी भएको छैन। निगरानी कमजोर हुँदा बढेको संक्रमण बढेको ठहर गर्दै प्रदेश ५ ले भारतीय सीमावर्ती क्षेत्रमा कडाई गर्न प्रदेश सरकारले निर्देशन दिएको छ। आजको अन्नपूर्ण पोष्ट् दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् ।










प्रतिक्रिया