फुटबलका लागि थिएन ह्याट्रिक गरेपछि मेस्सीले बगाएको आँसु

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका बुबा जर्ज मेस्सी स्वास्थ्य समस्याका कारण हाल चिकित्सकको रेखदेखमा रहेका छन्। मेस्सी परिवारले बिहीबार एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको हो।

विज्ञप्तिमा भनिएको छ, “अहिले उनी चिकित्सकको निगरानीमा छन्। उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र अवस्था सकारात्मक छ।”

Advertisement

यसै साता विश्वकपको आफ्नो पहिलो खेलमा अल्जेरियाविरुद्ध पहिलो गोल गरेपछि मेस्सी मैदानमै रोएका थिए। उक्त खेलमा अर्जेन्टिना ३–० ले विजयी भएको थियो।

३८ वर्षका कप्तान मेस्सीले खेलमा ह्याट्रिक पूरा गर्दै विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोसको कीर्तिमानसँग बराबरी समेत गरे। खेलपछि उनले भनेका थिए, “म किन रोएँ? त्यो फुटबलसँग सम्बन्धित कुरा थिएन। मेरा केही दिनहरू निकै कठिन बिते, तर म पूरै टोली र सहकर्मीहरू प्रति आभारी छु जसले मलाई सधैँ साथ दिए र यो अवस्थाबाट बाहिर निस्कन शक्ति दिए।”

पहिलो खेलपछि जर्ज मेस्सीको स्वास्थ्यलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू काटिएका थिए। यसप्रति मेस्सी परिवारले गम्भीर आपत्ति जनाएको छ।

पारिवारिक मामिलालाई लिएर केही व्यक्तिहरूले देखाएको असंवेदनशीलता र सम्मानको कमीप्रति परिवारले दुःख व्यक्त गरेको छ। जर्जको वास्तविक अवस्थाबारे केवल नजिकका आफन्तलाई मात्र जानकारी भएकाले आधिकारिक च्यानलबाहेकका अन्य कुनै पनि सूचनालाई विश्वास नगर्न विज्ञप्तिमा भनिएको छ।

Advertisement

यस्तो संवेदनशील समयमा सबैलाई जिम्मेवार, सतर्क र मानवीय बन्न मेस्सी परिवारले अपिल गरेको छ। कसैको स्वास्थ्य र परिवारको शान्तिलाई सञ्चारमाध्यमले गैरजिम्मेवार रूपमा अफवाहको विषय बनाउन नहुने उनीहरूको भनाइ छ।

आफूहरूले पाएको माया र सद्भावप्रति धन्यवाद दिँदै मेस्सी परिवारले यो प्रक्रियाभरि जर्ज र उनको पूरा परिवारको गोपनीयताको सम्मान गरिदिन आग्रह गरेको छ।

अर्जेन्टिनाले आफ्नो अर्को समूह चरणको खेल आगामी सोमबार अस्ट्रियाविरुद्ध खेल्नेछ भने अन्तिम खेल आगामी आइतबार जोर्डनविरुद्ध खेल्ने तालिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री