शनिबार, ८ वैशाख २०८१

दुर्घटना कम गर्न ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु

समयपोष्ट २०७४ भदौ १५ गते ५:२३

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियान शुरु गरेको छ । 

Advertisement

काठमाडौँ उपत्यकामा धेरै मानिस मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएको भन्दै यसलाई कम गर्न महाशाखाले ‘सुरक्षित मोटरसाइकल यात्रा’ अभियानको शुरुवात गरेको हो । 

महाशाखाले बुधबार साँझ कार्यालय गएर घर फर्केका मोटसाइकल यात्रुलाई बीच बाटोमा रोकेर पाँच मिनेट ट्राफिक जनचेतनामूलक शिक्षा दिएर मोटरसाइकलमा स्टीकर टाँसेर छाडेको थियो । 

यो अभियान उपत्यकाको भद्रकाली, त्रिपुरेश्वर, महाराजगञ्ज, चाबहिल, गौशाला, पाटन, जावलाखेल, नयाँबानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा सञ्चालन भएको थियो । 

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौँ उपत्यकामा मोटरसाइकलको संख्या दिनानुदिन बढ्दै गएको र मोटरसाइकलमा सवार गर्ने यात्रु धेरै दुर्घटना पर्दै गएको भन्दै उक्त अभियान सञ्चालन गरेको जानकारी दिए । “यो अभियान क्रमशः ठूला सवारीसाधनमा समेत लागू गर्दै लैजान्छौँ,”–प्रमुख खनालले भने । 

अभियानका क्रममा ट्राफिक प्रहरीले लेन अनुशासन कायम राख्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउने, ओभरटेक गर्दा बाँयाबाट नगर्ने, कुनै पनि ठाउँमा जाँदा घरबाट केही समय छिटो निस्कनेलगायतका प्रशिक्षण दिएको थियो । 

प्रशिक्षण दिएका मोटरसाइकललाई स्टीकर टाँसेपछि पुनः प्रशिक्षण दिनु नपर्ने भएकाले स्टीकर टाँस्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ । हाल काठमाडौँ उपत्यकामा मात्र आठ लाखको हाराहारीमा मोटरसाइकल रहेका छन् । यो अभियानलाई प्रत्येक दिन सञ्चालन गरिने महाशाखाले जनाएको छ ।  रासस 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री