यी तीन जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागले पछिल्लो केही घण्टादेखि देशका विभिन्न स्थानमा भारी वर्षा मापन भएको र आगामी केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी बागलुङ, मकवानपुर र सर्लाही जिल्लामा बाढी तथा पहिरोको जोखिम बढेको विभागले जनाएको छ।
विभागका अनुसार मंगलबार राति ११ः३० बजे बागलुङको गलकोट वर्षा मापन केन्द्र र आसपासका क्षेत्रमा पछिल्ला ६ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्रका साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने जोखिम रहेको र कमजोर तथा भिरालो जमिनमा पहिरोको खतरा देखिएको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
मकवानपुरको लालबकैया खोलाको जुरेलीबजार जलमापन केन्द्रमा जल सतह सतर्कता तह नजिक पुगेको र यो बढ्दो क्रममा रहेको विभागले जनाएको छ। मंगलबार राति ११ः०० बजे जारी सूचनाअनुसार लालबकैया खोलासहित आसपासका साना खोलाहरूको किनारमा बाढीको सम्भावना रहेकोले बुधबार बिहानसम्म विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सर्लाहीको पत्थरकोट र परवानीपुर वर्षा मापन केन्द्रमा पछिल्लो एक घण्टामा मध्यम वर्षा मापन भएको छ। थप वर्षाको सम्भावनासँगै साना खोलाहरूमा आकस्मिक बहाव बढ्ने र होचा भूभागमा डुबानको खतरा रहेको विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागले बागलुङ, मकवानपुर, सर्लाही लगायतका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई खोलानाला र पहिरोको सम्भावना भएका स्थानबाट टाढा रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ। विभागले स्थानीय प्रशासन र समुदायलाई सम्भावित क्षति न्यूनीकरणका लागि समन्वय गर्नसमेत सुझाव दिएको छ।
प्रतिक्रिया