शुक्रबार, १६ चैत २०८०

एक सय तेह्र विद्यालय पुनःनिर्माण

समयपोष्ट २०७४ भदौ १४ गते ६:२७

फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए । 

Advertisement

दुईकोठे एउटा भवन पुनः निर्माणलाई रु १० लाख ३८ हजार लगानी भएको छ । भवन पुनः निर्माणलाई ४.५ मिलियन सहयोग आएको थियो । गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो । 

विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताए ।  पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन् । फिन चर्च एडले गोरखामा ११३ विद्यालय, मकवानपुरमा १११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ । 

युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त रुपमा लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन् । गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो । 

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४४९ विद्यालयमध्ये अहिलेसम्म २०५ वटा पुनःनिर्माण भइसकेको र १५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताए । 
 रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री