मेगा बैंक दशौं वर्षमा प्रवेश, ‘लगानीको उचित प्रतिफल दिलाउन सफल’
मेगा बैंक नेपाल लिमिटेड दशौं वर्षमा प्रवेश गरेको छ । नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले समकालिन बैंकहरुमा मेगा बैंकले अतुलनीय सफलता प्राप्त गर्न सकेकोमा गर्व लागेको बताए ।
‘विगत ९ वर्षसम्मको समीक्षा गर्दा मेगा बैंकले शाखाहरुको सञ्जाल विस्तारमा झण्डै ८ गुणा, एटीएम सञ्जालको विस्तारमा ६ गुणा, निक्षेप संकलनमा १६ गुणा, कर्जा प्रवाहमा १५ गुणा, खुद मुनाफा आर्जनमा ७० गुणा, रोजगारीको अवसर सृजनाको दृष्टिकोणले ११ गुणा र राज्यलाई बुझाएको करको तुलनामा ७८ गुणाले फड्को मारेको छ,’ अध्यक्ष शाहले भने, ‘जुन उद्देश्यका साथ ९ वर्षअघि यस बैंकको स्थापना गरिएको थियो, त्यो सोचले सार्थकता प्राप्त गरेको मैले अनुभूति गरेको छु ।’
बैंकको दीर्घकालीन रणनीति अनुसार, देशका ७ वटै प्रदेशका सबै जिल्ला सदरमुकाम, आर्थिक तथा व्यापारिक कारोबार केन्द्र, हुलाकी तथा मध्य पहाडी राजमार्ग, गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका, महानगरपालिकाहरुमा बैंकको सञ्जाल विस्तार गर्ने योजना रहेको उनले बताए । सोही अनुरुप बुटवलमा प्रादेशिक भवन निर्माण भइरहेको जानकारी दिँदै अध्यक्ष शाहले केन्द्रिय कार्यालय सहित ७ वटै प्रदेशहरुमा आफ्नै घर—जग्गामा प्रादेशिक कार्यालय संचालन गर्ने कार्य योजना रहेको बताए ।
उनले भने – ‘सरकारद्वारा प्राथमिकता तोकिएका कृषि, पर्यटन र जलविद्युत क्षेत्रको व्यावसायिक प्रवर्धन गर्न लगानी वृद्धि गर्दै जाने तथा सोही अनुरुप व्यापार प्रवर्धन गरिएका क्षेत्रका समुदायहरुसँग अन्तरघुलित हुन सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले स्थानीय निकाय र प्रदेश सरकारहरुसँग समन्वय गरी आवश्यकता र प्राथमिकताका क्षेत्रहरुको पहिचान गर्दै प्राथमिकिकरण गरी सामाजिक उत्तरदायित्वको बजेट परिचालन गर्ने नीति लिएका छौँ ।’
सरकारको ‘मर्जर’ नीतिलाई आत्मसात गर्दै मेगा बैंकले मर्जर कमिटी बनाएको अध्यक्ष शाहले बताए । ‘मर्जरलाई हामीले नजिकबाट नियालिरहेका छौँ । सोही अनुरुप मर्जर कमिटी बनिसकेको छ । मेगा बैंकले वित्तीय बजारमा प्राप्त गरेको परिचयलाई तथा आर्जन गरेको भरोसा र विश्वासलाई कायम राख्न हामीसँग सामिप्यता राख्ने र सोच मिल्ने वित्तीय संस्थाहरुलाई आवद्ध गर्दै अझ शसक्त र व्यवस्थित ढंगले अगाडि बढनुको विकल्प हामीसँग छैन ।’– अध्यक्ष शाहले बताए ।
कार्यक्रममा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले स्थापनाकालदेखि नै मेगा बैंकले लगानीको उचित प्रतिफल दिलाउन सफल भएको बताईन । एक दशकमै मेगा बैंकले समकालिन बैंकहरुको तुलनामा सबै हिसाबले व्यावसायिक फड्को मार्न सफल भएको छ,’ उनले भनिन्, ‘अत्याधुनिक प्रविधि, नवीनतम योजनाहरुका कारण पनि ग्राहकहरुको विश्वास जित्न सफल भएको मलाई अनुभूति भएको छ । अब मिडक्याप बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अघि बढ्छौँ ।’
प्रतिक्रिया