शनिबार, १५ वैशाख २०८१

फेरिए ‘हिलाम्ये’ सडक

समयपोष्ट २०७६ असार २६ गते १४:५६

Advertisement

काशीराम शर्मा

स्थानीय तहको निर्वाचनपछि बाँकेको जानकी गाउँपालिकाका हिलाम्ये सडकहरुको अवस्था फेरिएका छन् । सडकहरु स्तरोन्नति गरिएका छन् । हिलाम्ये र धुलाम्ये हुने सडकहरु स्तरोन्नति गरिएपछि आवतजावत सहज हुँदै गएको छ ।

सडकहरुको स्तरोन्नतिसँगै धेरै नयाँ सडक बनेका छन् । केही सडक र नाला निर्माणकै क्रममा छन् । यो आर्थिक वर्ष सकिनै लाग्दा बाँकी रहेका सडक निर्माणका कामहरु आगामी आर्थिक वर्षमा पूरा गरिने गाउँपालिकाले जनाएको छ । बीस वर्षदेखि स्थानीय तह जनप्रतिनिधिविहीन हुँदा विकासका काम ठप्प थिए । निर्वाचनका बेला घरदैलोमा पुग्ने उम्मेदवारहरुसमक्ष सबैभन्दा बढी माग सडककै आएको थियो ।

बीस वर्षदेखि जनताले साँचेका विकासका सपनाहरु पूरा गर्नु जनप्रतिनिधिलाई कम चुनौतिपूर्ण थिएनन् । वर्षाको समयमा स्थानीय तहको निर्वाचन भएको थियो । वर्षाले हिलाम्ये सडक टेक्दै उम्मेदवारहरु घरदैलो पुगेका बखत मतदाताले निर्वाचित भए सडकलाई नै प्राथमिकतामा राख्न आग्रह गर्दथे । अहिले धुलो उडेर सास्ती दिने तथा वर्षामा हिड्नै नमिल्ने सडक फेरिएको गुरुवागाउँका स्थानीयवासी भगवान्शरण यादव बताउनुहुन्छ ।

“गाउँका बाटा फेरिएका छन्, अब वर्षात्मा हिलाम्ये सडक कुचल्नुपर्ने बाध्यता हटेको छ,” आफ्नो गाउँमा पक्की सडक बनेकामा खुशी देखिनुभएका यादवले भन्नुभयो – ‘वर्षात्मा हिलाम्ये सडकका कारण साइकल काँधमा राखेर हिँड्नु पर्ने अवस्था अब अन्त्य भएको छ ।” नयाँ व्यवस्था, सीमित बजेट र असीमित अपेक्षाको संयोजन गर्दै गाउँपालिकाले दुई वर्षमा गाउँपालिकाका धेरै सडकहरुको स्तर सुधारिसकेको छ ।

पालिकाले दुई वर्ष बजेटको ठूलो हिस्सा सडक ग्राभेल र पिसिसीका लागि खर्चेको गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले बताउनुभयो । “जनताको चाहना बमोजिम ७० प्रतिशत भन्दा बढी सडकहरु स्तरोन्नति भएका छन्,” उहाँ भन्नुहुन्छ ।
गाउँपालिकाका उपाध्यक्ष धिताल निर्वाचनकै बेला उठेका सडकका मागहरुलाई गाउँपालिकाले सम्बोधन गरेको बताउनुहुन्छ ।
गाउँपालिकाले माटो पटान, ग्राभेल र पक्की बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेकाले पालकाभित्रका सडकहरुको अवस्था फेरिएको हो । गाउँपालिकाले मात्रै होइन वडाहरुले पनि सडक स्तरोन्नतिका काम गरेका छन् । बेलहरी, राँझा विमानस्थल, नेपालगञ्जको धम्बोझी हुँदै खजुराखुर्द तीनैतिरबाट सडक पहुँचको सरल केन्द्रका रुपमा जानकी विकसित भइरहेको छ । नेपालगञ्ज विमानस्थल नजीकै पिप्रहवादेखि भारतीय सिमानासम्म जोडिएको जानकीले नेपालगञ्जलाई अङ्गालो मारेको छ ।

बेलहरी, साइगाउँ, बेलभार, इन्द्रपुर, खजुराखुर्द र गनापुरलाई एकीकृत गरी बनाइएको जानकी गाउँपालिका सोझै भारतीय नाकासँग पनि जोडिएको छ । अठार हजार मतदाता रहेको जानकीमा ३७ हजार ८३९ जनसङ्ख्या छ । जानकीले ६३।३२ वर्गकिलोमिटर भू–भाग ओगटेको छ भने खजुरा र कोहलपुर समेतलाई सम्पर्क स्रोत बनाएको छ । गाउँपालिकाकालाई सुगम बनाउन पहिलो आवश्यक पूर्वाधार सडक नै हो । जानकीको बढी जोड पनि सडकमै देखिएको छ ।

“चालु आर्थिक वर्षमा धेरै सडक बनेका छन् भने केही अझै बन्ने क्रममा छन्,” उपाध्यक्ष धितालले भन्नुभयो । जानकी गाउँपालिकाको वडा नं १ मा विभिन्न बाटाहरुका लागि आव २०७५÷७६ मा रु २ लाखदेखि रु ११ लाखसम्मको बजेट सडक स्तरोन्नतिका लागि छुट्याइएको थियो । वडा नं १ को शिवपुरीमा पक्की नाली तथा पिसिसी सडकको काम भएको छ । वडा नं १ को बढैया, साइगाउँ, पचपोखरी, जोगागाउँमा नाली तथा सडक पिसिसीको काम भैरहेको हो ।
वडा नं १ मा मात्रै एक दर्जनभन्दा बढी सडकका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । “नेपालगञ्ज आउने जाने गाउँका भित्री बाटाहरु वर्षात्मा हिँड्न सकिने हुन्थेनन्,” जानकी गाउँपालिका–१ का स्थानीयवासी रुस्तम दर्जी भन्नुहुन्छ – “जनप्रतिनिधि आएपछि गाउँमा सडक पूर्वाधारको काम धमाधम भैरहेका छ ।” सडकको स्तर हेरेर पनि विकास र समृद्धिको मापन हुने रहेछ, विकासको पहिलो मापदण्ड सडक भएकाले पनि अहिले स्थानीय सरकारहरु सडकमा बढी लगानी गर्न खोजिरहेका छन् भन्नुहुन्छ उपाध्यक्ष धिताल ।
वडा नं २ को बेलभार, बाबाकुटी, भुजंगपुर, चौधरीपुर, बनकटवा, साहुपुर, जंगलीबाबा, भैयापुर, बकोटिया, नेवाजीगाउँमा पनि एक दर्जनभन्दा बढी सडक स्तरोन्नति र नाला निर्माण भएका छन् । वडा नं २ मा पनि एउटै सडकको स्तरोन्नतिका लागि रु ११ लाखसम्म खर्च गरिएको छ । वडा नं ३ मा दुई दर्जनभन्दा बढी सडक स्नरोन्नतिका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको थियो जसमध्ये धेरै सडक र नाला बनिसकेका छन् ।

“पालिकाका कतिपय ठाउँमा अझै पनि काम जारी छ,” उपाध्यक्ष धितालले भन्नुभयो । वडा नं ३ को करमोहना, इन्द्रगाउँ, बन्जारेगाउँ, कालिकापुर, मोतीपुर, रमवापुर, जुगुल भरिया, मानपुर, पासीपुरमा सडक ग्राभेल, नाली निर्माण, माटो पटान, आरबिसी ढलान गरी स्तरीय बाटो बनेका छन् । वडा नं ४ को ठूलो खजुरा, अमृतपुर, सानो खजुरा, मैनेजपुर, सहादतपुर, गिजरा, लैनयापुर, खजुराखुर्दमा पनि बाटो बनेका छन् जसमध्ये एउटै बाटोलाई पनि रु १९ लाखसम्म खर्च गरिएको छ ।
वडा नं ५ को बकसपुर, बनियागाउँ, गुरुवागाउँ, बेलहरी, बढियागाउँका सडक स्तरोन्नति भएका छन् । नाला निर्माण हुँदैछ । यहाँ एउटा बाटोका लागि रु १३ लाख रुपैयाँ गाउँपालिकाले खर्च गरेको छ । वडा नं ६ को कोठारपुर, भाटनपूरवा, कैरातीपुर, चमारपुर, कपासी, डिठापुर, पिपरहवामा पनि सडक स्तरोन्नति भएको छ । जानकी गाउँपालिकाले रु ३१ करोड १७ लाख बजेट चालु आवका लागि पारित गरेको थियो ।

जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष मो। रजन राईले जानकीका सडक फेरिएको बताउनुभयो । आव २०७५÷७६ मा वडाले पाएको २१ वटा योजनामा अधिकाँश पूरा भइरहेको अध्यक्ष राईको भनाइ थियो । “सकिन बाँकी एक÷दुई वटा योजनामा काम भैरहेको छ,” वडाध्यक्ष राईले भन्नुभयोे । वडा नं १ ले पूर्वाधार विकास कार्यक्रमका लागि १ करोड ५ लाख रुपैयाँ गाउँपालिकाबाट पाएको थियो ।

आव २०७५÷७६ मा वडा न २ ले रु ९७ लाख ७१ हजार र वडा नं ३ ले पूर्वाधार विकासका लागि रु एक करोड २२ लाख २५ हजार प्राप्त गरेका थिए । त्यस्तै, वडा नं ४ ले रु ८९ लाख ८ हजार ७९० र वडा नं ६ ले रु एक करोड ५२ लाख पाएका थिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री