बिहीबार, ६ वैशाख २०८१

बुढीगण्डकी परियोजनालेे समयमा काम गर्न नसके सम्झौता रद्द हुन्छः उर्जामन्त्री शाही

समयपोष्ट २०७४ साउन १२ गते १०:१२

नवनियुक्त उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलविद्युत परियोजनाले सन्तोषजनक र समयमै काम गर्न नसके सम्झौता रद्द गर्ने चेतावनी दिएका छन् । मुआब्जाको समस्या छिट्टै हल गर्ने उनले बताए ।

Advertisement

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री शाहीले बुढीगण्डकी परियोजना निर्माण कम्पनीले समयमै काम गर्न नसके उक्त सम्झौता रद्द गर्ने बताएका हुन् ।उनले भने, ‘सम्झौता भए अनुसार समयसिमाभित्रै काम गर्न सकेन भने हामी सम्झौता तत्काल खारेज गर्छौं ।’ मुआब्जाका लागि करिब ६० अर्ब चाहिन्छ । १६ अर्ब मुआब्जा रकम निकासा भइसकेको छ भने अहिले १० अर्ब निकासाको तयारीमा रहेको मन्त्री शाहीले बताए ।

मन्त्री शाहीले झोलामा खोला बोकेर हिँड्ने तर, काम नगर्ने दलालीहरुलाई समेत कारबाही गर्ने चेतावनी दिए । विद्युत भनेको नै आर्थिक क्षेत्रमा कायापलट गर्ने क्षेत्र भएकोले यसको विकासमा आफूले विशेष जोड दिने उनको योजना रहेको छ ।

उनले विद्युत क्षेत्रको विकासका लागि उर्जा उत्पादनमा वृद्धि गरिने जनाए । मन्त्रीशाहीले अब लोडसेडिङ नहुने समेत जिकिर गरे ।

ट्रान्समिसन लाइन मर्मत गर्दा र काम गर्दा केही क्षण डिस्टर्व भएपनि समग्रमा लोडसेडिङ नहुने दाबी गरे ।

शाहीले विद्युत्भार कटौती हुन नदिनु आफ्नो प्रमुख उद्देश्य भएको बताए । विद्युत व्यवस्थापन गर्न कम पावरको बल्ब र फ्यानहरुको प्रयोग गर्नुपर्ने बताए ।

उर्जामन्त्री शाहीले एक हप्ताभित्रै विद्युत महशुल कारोबार अनलाइन डिजिटल प्रणालीमा अघि बढाउने समेत बताए । उनले भने,’एक हप्ताभित्रै अनलाइनबाटै पेमेन्ट सुरु हुँदैछ, यसको लागि मैले निर्देशन दिइसकेको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री