बदलिँदो सुरक्षा चुनौती : सशस्त्र प्रहरी बलद्वारा १६८ अधिकृतको कमान्ड जिम्मेवारी बदली
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई सम्बोधन गर्न एकैपटक १६८ जना अधिकृतको कमान्ड जिम्मेवारी बदली गरेको छ। जसमा २६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक, ९३ जना सशस्त्र प्रहरी निरीक्षक र ४९ जना सशस्त्र प्रहरी नायव निरीक्षक गरी कुल १६८ जनाको सरुवा गरिएको छ।
मुख्यालयले कमान्ड जिम्मेवारीमा खटिने अधिकृतहरूको पूर्वानुमान सूची पहिल्यै प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतहरूलाई प्राथमिकताका आधारमा जिम्मेवारी प्रदान गर्ने नीति अवलम्बन गर्दै आएको छ। विगतमा सीमा क्षेत्रमा खटिएर राजस्व संकलनमा उत्कृष्ट प्रदर्शन गरेका अधिकृतहरूलाई कमान्ड जिम्मेवारीमा विशेष प्राथमिकता दिइएको छ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, संगठनले हाल राजस्व संकलनलाई विशेष जोड दिएको छ। विगतको कार्यसम्पादन र ट्र्याक रेकर्डका आधारमा अधिकृतहरूलाई जिम्मेवारी प्रदान गर्ने नीति अपनाइएको छ।
यसैगरी, लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतहरूलाई फरक प्रदेशका युनिटहरूमा सरुवा गरिएको छ। अनिवार्य अवकाशको अवधि नजिकिएका अधिकृतहरूलाई प्राथमिकतामा राखी कमान्ड जिम्मेवारी दिइएको छ भने आफ्नो गृहजिल्ला वा हाल कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा खटाउने नीति अवलम्बन गरिएको मुख्यालयले जनाएको छ।
प्रतिक्रिया