मंगलबार, ११ वैशाख २०८१

व्यापारीहरुलाई भन्सारमा एक्जिम कोड अनिवार्य

समयपोष्ट २०७४ साउन १ गते ७:३६

आयात निर्यातमा संलग्न व्यापारीहरुले आइतबारबाट अनिवार्य रुपमा निकासी/पैठारीकर्ता संकेत (एक्जिम कोड) लिनुपर्ने भएको छ । न्युनतम् ५० हजारसम्मको वस्तु तथा सेवा आयात गर्ने तथा ५ लाख बराबरको निर्यात गर्नेले यो कोड अनिवार्य लिनुपर्ने भएको हो ।

Advertisement

अहिलेसम्म भन्सार विभागबाट २ हजार ७ सय ८३ ब्यवसायीले संकेत नम्बर लिइसकेका छन् । सरकारले बजेट भाषणमार्फत एक्जिम कोड लागू गर्ने घोषणा गरेको थियो ।

कोड नम्बर नलिएकाले तोकिएको भन्दा बढी रकमको मालसमान आयात–निर्यात गर्न पाउने छैनन् । यसले आयात निर्यातमा संलग्नहरुलाई नियमन गर्न सहज हुने छ  । व्यापारीको पहिचानसमेत रहने यस्तो कोडमा व्यापारसम्बद्ध कागजातहरु विद्युतीय प्रणालीमा आवद्ध हुनेछन् ।

गत माघ १३ गतेबाट नै व्यापारीहरुलाई यस्तो कोड लिन सकिने गरी अनलाइन दर्ताको व्यवस्था मिलाइएको थियो । तोकिएको १० लाखको चुक्ता पूँजी पुर्याएर दर्ता भएका आयातकर्ता फर्मले ३ लाख धरौटी राखेर एक्जिम कोड लिन सकिने व्यवस्था गरिएको छ ।

निर्यातको हकमा भने चुक्ता पुँजीको प्रावधान नराखिएको बिभागले जनाएको छ ।  व्यापारमा निरन्तरता नदिनेले यस्तो कोड खारेज गर्न सक्नेछन् भने यसको नवीकरण आवश्यकता अनुसार ३ देखि ५ वर्षभित्रमा गर्न सकिने व्यवस्थासमेत रहेको छ ।

निकासी–पैठारी संकेत नम्बर प्रदान गर्ने सम्बन्धि कार्यविधि, २०७३ ले यसलाई नीतिगत रुपमा व्यवस्थित गरेको छ ।

भन्सार प्रणालीमा सुधार गर्ने क्रममा ल्याइएको यो व्यवस्थाले आयात/निर्यातमा संलग्नहरुको आधिकारिक तथ्यांक निस्कने र राजस्व संकलनलाई पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

यसले परेको मूल्यभन्दा कम देखाएर राजस्व छल्ने प्रवृत्ति (न्युनबिजकीकरण) लाई निरुत्साहित गर्ने मात्र नभई पुँजी पलायनलाई समेत रोक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री