शुक्रबार, १६ चैत २०८०

सरकारका कामबारे डटेर कुरा राख्न प्रधानमन्त्रीको आग्रह

समयपोष्ट २०७५ साउन ११ गते ८:१२

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीबारे संसद्मा डटेर कुरा राख्न पार्टीका सांसद्लाई निर्देशन दिनुभएको छ ।

Advertisement

नेकपा संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आगामी असोज ३ गतेभित्र संविधानबमोजिम नयाँ कानुन बनाइक्नुपर्ने भएकाले सदनको काम सुचारु हुने वातावरण सिर्जना गर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो– “शीर्ष नेताहरुले सरकारका नीति तथा कार्यक्रम र बजेटका बारेमा खुलेर कुरा राख्नुपर्छ, यसले संसद् र जनतामा राम्रो सन्देश प्रवाह हुन्छ ।”

संसद्मा हुने अवरोधले कानुन निर्माणको कार्यसूचीलाई असर गर्ने बताउँदै उहाँले सबै काम समयमै सक्न पार्टीका सांसदले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई बल दिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारलाई असफल हुने छुट नभएकाले बेथिति र भ्रष्टाचार घट्दै गएको उल्लेख गर्दै “कतै भ्रष्टाचार भएको थाहा पाउनुभयो भने भन्नुहोस्, म अनुहार नहेरी कारबाही गर्छु भन्नुभयो ।”

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी र सरकारविरुद्ध भइरहेका षड्यन्त्र चिर्न आग्रह गर्दै सदनको गतिरोधको स्थितिले लोकतान्त्रिक प्रक्रियालाई नै अवरोध पु¥याउने छ भन्नुभयो ।

बैठकमा चिकित्सक डा गोविन्द केसी र सरकारबीच भएको नौ बुँदे सहमतिबारे जानकारी गराइएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री