बिहीबार, ६ वैशाख २०८१

प्रतिष्ठानका पदाधिकारीको राजीनामा माग

समयपोष्ट २०७५ साउन ७ गते ६:२१

कर्मचारी कल्याणकारी समाज, स्वास्थ्य विज्ञान प्रतिष्ठानले यही साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको तोडफोड पदाधिकारीको योजनामा भएको भन्दै उहाँहरुको राजीनामा माग गरेको छ ।

Advertisement

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेसहितका पदाधिकारीले यहाँ अध्ययनरत एचए र स्टाफ नर्सका विद्यार्थी परिचालन गरी तोडफोड गर्न लगाएको समाजका अध्यक्ष रामकान्त उपाध्यायले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आरोप लगाउनुभयो ।

“उपकुलपति वाग्लेलगायत अन्य पदाधिकारीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीलाई डा गोविन्द केसीलाई भेट्न जान नदिने सुनियोजित योजना बनाएको , उहाँहरु त्यहाँ पुग्ने बित्तिकै प्रवेश रोक लगाई वातावरणलाई उत्तेजित बनाएर झडप र तोडफोडको स्थिति सिर्जना गरेको अध्यक्ष उपाध्यायले बताउनुभयो । उहाँले योजना बनाउने पदाधिकारीसहित घटनामा संलग्न अन्य दोषीमाथि अविलम्ब छानबिन गर्न र प्रतिष्ठानको क्षतिपूर्ति हुनुपर्ने माग राख्नुभयो ।

नागरिक समाजले डा केसीको जीवन रक्षाका लागि काठमाडौँ लैजान आग्रह गरेको अवस्थामा पनि डा केसीलाई काठमाडौँ नपठाएर झडपको स्थिति सिर्जना गरिएको दाबी समाजले गरेको छ ।

यता नेपाल चिकित्सक संघ कर्णाली शाखा जुम्लाका अध्यक्ष डा मंगल रावलले पनि प्रतिष्ठानमा घटना घट्नुमा पदाधिकारी नै प्रमुख जिम्मेवार रहेको ठोकुवा गर्नुभयो । अध्यक्ष डा रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भनेको समयमै एमबीबिएस पढाइ नहुनुमा पनि पदाधिकारीकै प्रमुख दोष रहेको औँल्याउनुभयो ।

प्रतिष्ठान, कर्मचारी हकहित जुम्लाका महासचिव राजबहादुर खत्रीले त्यहाँ अध्ययनरत विद्यार्थी आफैँ तोडफोडमा नलागेको बताउनुभयो । महासचिव खत्रीले भवनको संरचना तोडफोड एवं विद्यार्थी कुटिनुमा पदाधिकारी, केही कर्मचारी दोषी र अस्पताल हाताभित्रै अन्धाधुन्ध लाँठीचार्ज गर्नु प्रशासनको कमजोरी रहेको औँल्याउनुभयो ।

प्रतिष्ठानका निमित्त डिनको भूमिका निर्वाह गर्नुभएकी नर्सिङ लेक्चर अनुपा श्रेष्ठले साउन ३ गतेका दिन आफूहरु कसैलाई जानकारी नदिएर नर्सिङ र एचएका विद्यार्थीलाई तोडफोडमा लगाएको बताउनुभयो । पछिल्लो समयमा त्यहाँ अध्ययनरत विद्यार्थीले पनि डा केसीको जीवन रक्षाको नाममा आफूलाई प्रयोग गरिएको दुखेसो पोखेका छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री