राजेश अहिराजविरुद्ध बलात्कार मुद्दा दायर
मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। साउन ४ गते पक्राउ परेका अहिराजविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले मंगलबार अभियोगपत्र दर्ता गरेको हो।
२३ वर्षीया एक युवतीले अहिराजले २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित डेरामा आफूलाई बलात्कार गरेको जाहेरी दिएकी छन्। पीडितले दिएको जाहेरीमा उल्लेख भएअनुसार, एक्लै भएको मौका छोपी अहिराजले उनको घाँटी र मुख थिचेर जबरजस्ती गरेको आरोप छ। जाहेरीमा भनिएको छ, “हल्ला गरेमा वा चिच्याएमा तँलाई नै बेइज्जत हुन्छ भन्दै धम्की दिनुभयो।”
पीडितले अहिराजलाई १७ वर्षको उमेरमा विराटनगरमा चिनेको र उनको परिवारसँग पारिवारिक सम्बन्ध रहेको बताएकी छन्। काठमाडौं आउजाउको क्रममा अहिराज पीडितको परिवारको डेरामा बस्ने गर्थे। जाहेरीमा पीडितले भनेकी छन्, “जरुरी कुरा गर्नुछ भन्दै आएर ढोकाको चुकुल लगाउनुभयो र मेरो मुख थिचेर बिस्तारामा पछार्नुभयो। बलात्कारपछि ‘तँ मधेसी परिवारकी छोरी हौ, यो कुरा कसैलाई भनिस् भने तँलाई कसैले बिहे गर्दैन’ भन्दै धम्की दिनुभयो।”
मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को खण्ड (ङ) बमोजिम अहिराजविरुद्ध ७ देखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ। साथै, दफा २१९ को उपदफा (३क) को खण्ड (ग) अनुसार ३ लाख रुपैयाँ जरिवाना माग गरिएको छ।
अहिराज २०७७ फागुनमा मधेश प्रदेशको प्रमुख नियुक्त भएका थिए। प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दायर गरिएको यो मुद्दामा पीडितले बारम्बार धम्की प्राप्त गरेको र “नेपालमा पैसा र पावर हुनेको मात्र कानुन चल्छ” भन्दै अस्मिता लुटिएको जाहेरीमा उल्लेख गरेकी छन्।
प्रतिक्रिया