बुधबार, १४ साउन २०८२

१५ वर्षमा बन्यो रानी जमरा कुलरिया सिंचाइ प्रणाली, ३८,३०० हेक्टरमा सिँचाइ सुविधा

समयपोष्ट २०८२ साउन १३ गते १९:१६

प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार कैलालीमा राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको थप १४,३०० हेक्टरमा सिँचाइ सुविधा, ४.७१ मेगावाट जलविद्युत आयोजना र ३३ केभी प्रसारण लाइनको उद्घाटन गरेका छन्।

यो आयोजनाको दोस्रो चरण सम्पन्न भई तेस्रो चरणको काम सुरु भएको छ। आर्थिक वर्ष २०६७/६८ मा सुरु भएको यो आयोजनाले १५ वर्षमा सिँचाइ प्रणाली तयार गरेको छ। नहरको पानी प्रयोग गरी ४.७१ मेगावाट क्षमताको जलविद्युतगृह निर्माण भएको छ, जुन कैलालीको जानकी गाउँपालिका वडा नं. ९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ।

यस आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सिँचाइ सेवा प्रदान गर्दै आएको थियो। तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया र घोडाघोडी लगायतका पालिकामा सिँचाइ विस्तार गरी कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य छ। आयोजनाले कुल ३८,३०० हेक्टरमा सिँचाइ पुर्‍याउने योजना बनाएको छ, जसमध्ये २४,३०० हेक्टरमा अझै विस्तार गर्न बाँकी छ।

प्रधानमन्त्री ओलीले यो आयोजनालाई नेपालको जलस्रोत र ग्रामीण कृषि क्षेत्रको विकासमा ऐतिहासिक उपलब्धिको संज्ञा दिँदै यसले ग्रामीण जीवनशैली, कृषि उत्पादन, ऊर्जा आत्मनिर्भरता र खाद्य सुरक्षालाई सुदृढ गर्ने बताए। उनले १२० वर्षअघि स्थानीय किसानको सामूहिक प्रयास र परम्परागत सीपबाट सुरु भएको यो प्रणालीलाई आधुनिक स्वरूपमा विस्तार गरिएको उल्लेख गरे। स्थानीय सहभागिता र सरकारको समन्वयले यो सफलता सम्भव भएको उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सिक्टा, बबई, महाकाली तेस्रो, भेरी–बबई र सुनकोशी–मरिन जस्ता राष्ट्रिय गौरवका अन्य आयोजनाहरू यथाशीघ्र सम्पन्न गर्न सम्बद्ध निकायलाई निर्देशन दिए।

उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रानी जमरा कुलरिया सिँचाइ प्रणालीलाई पश्चिम तराईको ऐतिहासिक र सामाजिक सम्पदाको रूपमा चित्रण गरे। उनले १२० वर्ष पुरानो परम्परागत कुलो प्रणालीलाई पुनर्निर्माण र आधुनिकीकरण गरी वर्तमान स्वरूपमा ल्याइएको बताए।

मन्त्री खड्काले आयोजनाबाट उत्पादित ४.७१ मेगावाट विद्युत्को उपयोगबारे मन्त्रालयस्तरमा छलफल भइरहेको र निकट भविष्यमा सरकारले यसबारे उपयुक्त निर्णय लिने जानकारी दिए। उनले यो आयोजनाले समृद्ध नेपाल निर्माणमा एक उज्यालो उदाहरण बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री