ज्योति विकास बैंकद्वारा इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा सञ्चालन
ज्योति विकास बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा डिजिटल सेवा प्रवर्द्धन र ग्राहक मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिंदै इन्टरबैंक टेलर क्युआर भुक्तानी सेवा संचालनमा ल्याएको छ। यस डिजिटल सेवाको माध्यमबाट अब ज्योति विकास बैंकमा खाता नभएका नागरिकहरूले पनि आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ्ग एपको प्रयोगबाट ज्योति विकास बैंकको जुनसुकै शाखामा गई नगद निकाल्न सक्नेछन्। ज्योति विकास बैंकको शाखाहरूमा रहेको तोकिएको क्युआरलाई स्क्यान गरी नगद निकाल्न पाइने यस सुविधाले आम नागरिकहरूलाई थप सहजता हुने विश्वास बैंकले बोकेको छ।
यो सेवा उपयोग गर्न, सेवाग्राहीको नेपालभित्रको जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता तथा सो खातासँग सम्बन्धित मोबाइल बैंकिङ्ग सुविधा सक्रिय रहेको हुनुपर्छ। ज्योति विकास बैंकमै खाता हुनुपर्छ भन्ने छैन। यस भुक्तानी सेवा प्रयोग गर्न ग्राहकले आफ्नो वैध परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्छ। एटीएम अथवा आफ्नो सम्बन्धित बैंकको शाखा पायक नपरेको अवस्थामा ज्योति विकास बैंकमा खाता नभएता पनि यो सुविधा उपलब्ध हुने छ।
ज्योति विकास बैंकले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकको सुविधा, पहुँच र सन्तुष्टिमा केन्द्रित रही आधुनिक बैंकिङ्गको दिशामा सार्थक कदम अघि बढाउने उद्देश्यपूर्ति स्वरूप यो सेवा पनि थप गरेको हो। भविष्यमा अझ प्रभावकारी र नविनतम समाधानमार्फत ग्राहक सेवालाई थप सशक्त बनाउँदै लैजाने बैंकको दिगो प्रतिबद्धता रहेको छ।
प्रतिक्रिया