बाढी र पहिरोले आठ राजमार्ग पूर्ण अवरुद्ध
देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा रहेका छन्। नेपाल प्रहरीले सोमबार बिहान १० बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, र कर्णाली प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
बागमती प्रदेशमा चार राजमार्ग अवरुद्ध
बागमती प्रदेशमा बाढी र पहिरोका कारण चारवटा मुख्य सडक पूर्ण रूपमा बन्द भएका छन्। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा बाढीले नेपाल र चीन नाका जोड्ने पुल बगाउँदा यातायात पूर्ण रूपमा ठप्प भएको छ। त्यस्तै, पासाङ ल्हामु सडक खण्डमा पहिरोले अवरुद्ध बनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग बन्द भएको छ। नुवाकोटको शिवपुरी–४ चालिसेमा मध्य–पहाडी लोकमार्ग पनि पहिरोका कारण अवरुद्ध छ।
कर्णाली प्रदेशमा तीन सडक बन्द
कर्णाली प्रदेशमा तीनवटा महत्त्वपूर्ण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। रुकुम पश्चिमको आठबिसकोटमा बाढीले जाजरकोट–डोल्पा जोडने भेरी करिडोर अवरुद्ध भएको छ। हुम्लाको सिमकोटमा पहिरोले कर्णाली करिडोर र जाजरकोटको छेडागाडमा मध्य–पहाडी राजमार्ग पनि पहिरोका कारण बन्द भएको छ।
कोशी प्रदेशमा कोशी राजमार्ग प्रभावित
कोशी प्रदेशको संखुवासभाको भोटखोला–८ बरुणमा अविरल वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
एकतर्फी सञ्चालनमा रहेका सडकहरू
नेपाल प्रहरीका अनुसार निम्न सडकहरू एकतर्फी रूपमा सञ्चालनमा छन्:
-
काठमाडौँ–नुवाकोट सडक खण्ड: टोखा नगरपालिका–२ मा एकतर्फी सञ्चालन।
-
कालीगण्डकी करिडोर: बागलुङको बानपा–१० दब्ल्याङ र नवलपरासी (पूर्व)को गैँडाकोट–३ तरङखोलामा एकतर्फी सञ्चालन।
-
बेनी–जोमसोम सडक: मुस्ताङको थासाङ–४ घोप्टेभिरमा पहिरोका कारण एकतर्फी।
-
सहिद राजमार्ग: रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिम र धामाचौरमा पहिरोले एकतर्फी बनाएको।
प्रहरीले प्रभावित क्षेत्रमा सडक खुलाउने प्रयास भइरहेको जनाएको छ। बाढी र पहिरोका कारण यात्रा गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
प्रतिक्रिया