उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व
आर्थिक वर्ष २०८१/८२ मा उपल्लो मुस्ताङ भ्रमण गरेका विदेशी पर्यटकबाट नेपाल सरकारले रु २९ करोड ११ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ ।
त्यहाँ चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेवापत नेपाल सरकार अध्यागमन विभागले उक्त राजस्व सङ्कलन गर्न सफल भएको हो ।
सरकारले उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेका कारण उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकले उच्चस्तरको पर्यटकका रूपमा प्रवेशआज्ञा अनुमति लिनुपर्ने प्रावधान छ । त्यहाँ जाने विदेशी पर्यटकलाई अध्यागमनले विभागले १० दिनको प्रवेशआज्ञा अनुमतिपत्र स्वरूप पाँच सय डलर शुल्क उठाउने गरिएको छ । त्यहाँ अनुमति बेगर जाने विदेशी पर्यटकहरू अवैध रूपमा प्रवेश गरिएको मानिन्छ ।
सरकारलाई त्यहाँ तोकिएको शुल्क बुझाएर अनुमति लिई जाने विदेशी पर्यटकलाई १० दिन कटेपछि थप दैनिक ५० डलर अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । सरकारले गत वर्ष त्यहाँ पुगेका विदेशी पर्यटकबाट २१ लाख नौ हजार पाँच सय अमेरिकन डलर राजश्व सङ्कलन गरेको हो ।
यहाँको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथिको क्षेत्रलाई सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रको रूपमा घोषणा गरेकाले उपल्लो मुस्ताङमा एकदमै न्यून विदेशी पर्यटकहरू मात्रै पुग्ने गरेको पाइएको छ । आर्थिक वर्ष २०८१/८२ को बाह्र महिनाको अवधिमा ७३ राष्ट्रका कूल चार हजार दुई सय १९ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । उपल्लो मुस्ताङमा उक्त सङ्ख्यामा विदेशी पर्यटक भित्रिदा चार सय ३६ जना फ्रान्सेली पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । यो सङ्ख्या कूल विदेशी पर्यटक सङ्ख्याको (१०.३३) प्रतिशत हो । यसैगरी सोहीवर्ष सबैभन्दा कम १२ राष्ट्रका एकएक जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ ।
एक्याप लोमान्थाङको तथ्याङ्कअनुसार आव २०८०/०८१ मा ७१ राष्ट्रका तीन हजार ४४३ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यसबेला उपल्लो मुस्ताङ भित्रिने कुल विदेशी पर्यटक सङ्ख्यामध्ये ३९९ जना फ्रान्सेली पर्यटक थिए । यो सङ्ख्या कुल पर्यटकको (११.५८) प्रतिशत हो । यसैगरी सोही वर्ष सबैभन्दा कम ७ राष्ट्रका एकएक जना विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको एक्याप लोमान्थाङको तथ्याङ्कमा उल्लेख छ ।
चालु आवको साउनदेखि ११ गतेसम्ममा १५ राष्ट्रका ६६ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङको भ्रमण गरेका छन् । जसमध्ये सबैभन्दा धेरै बेल्जियमका १३ जना र सबैभन्दा कम लक्जेम्बरका एक जना विदेशी पर्यटक छन् । आव २०८१/८२ को साउनदेखि असार महिनासम्म कूल एक लाख ५० हजार चार सय ५६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । यहाँ भित्रिएका विदेशी पर्यटक सङ्ख्याको तुलनामा (२.८०) प्रतिशत मात्रै विदेशी पर्यटक उपल्लो मुस्ताङ भित्रिएको तथ्याङ्कले देखाउँछ ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा (१८.३९) प्रतिशत विदेशी पर्यटक वृद्धि भएको कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । त्यहाँ निषेधित क्षत्रे कायम रहँदा उपल्लो मुस्ताङको पर्यटन व्यवसाय धरासयी भएको भन्दै उपल्लो मुस्ताङका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरू असन्तुष्ट छन् । त्यहाँ कायम गरिएको निषेधित क्षेत्र खुला गर्न माग राख्दै पटक÷पटक सरकारको ध्यानाकर्षण गर्ने गरिएको छ ।
प्रतिक्रिया