शुक्रबार, ९ साउन २०८२

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

समयपोष्ट २०८२ साउन ८ गते ६:१८

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन हुनुभएको छ ।

त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो । वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरेको छ ।
सङ्घ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आइसिीससँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जनाउँदै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको हो ।

यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ । आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री