बिहीबार, ८ साउन २०८२

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आइपिओ निश्कासन गर्ने सम्झौता

समयपोष्ट २०८२ साउन ७ गते २२:२७


नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक महत्वपूर्ण कदमस्वरूप, सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निश्कासन (IPO) सम्बन्धी सम्झौता सम्पन्न गरेको छ। यो ऐतिहासिक सम्झौता होटल मेरियट, काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा सम्पन्न भएको हो। सम्झौतापत्रमा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पुँजीको २०% सर्वसाधारणका लागि निश्कासन गर्ने योजना बनाएको छ। यो IPO मार्फत नेपाली नागरिकलाई एक सम्भावनायुक्त र अग्रगामी उद्योगमा लगानी गर्ने अवसर प्राप्त हुनेछ।

IPO बाट संकलित रकमको उपयोग कम्पनीले नेपालमा पहिलोपटक Underground Cable उत्पादन सुरु गर्न र अत्याधुनिक Aluminium Furnace Plant स्थापना गर्न प्रयोग गर्नेछ। यो पहलले नेपालको विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनुका साथै आयातमा निर्भरता घटाउने र विद्युत् पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यसले लगानीकर्ता र ग्राहकका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने अपेक्षा गरिएको छ।

विगत १८ वर्षदेखि नेपालको अग्रणी केवल तथा तार उत्पादन कम्पनीको रूपमा स्थापित सारथी केवल इन्डष्ट्रीज लिमिटेडले Multi-Strand Cable, Power Cable, Concentric Cable, र ACSR Conductor जस्ता उत्पादनहरूमा विशेषज्ञता हासिल गरेको छ। कम्पनी नेपालको विद्युतीय पूर्वाधार क्षेत्रमा भरपर्दो र प्रतिष्ठित नामको रूपमा चिनिन्छ।

कार्यक्रममा सारथी केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष अंकित भुसालले भने,”यो सम्झौता हाम्रो अभियानको एक महत्वपूर्ण कोसेढुंगा हो, जसले नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरण गर्ने दिशामा अघि बढ्नेछ। नेपालमै पहिलोपटक Underground Cable उत्पादनको विस्तारले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सशक्त बनाउनेछ।”

त्यस्तै सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले भने, “सारथी केवल इन्डष्ट्रीजसँगको यो सहकार्य हाम्रा लागि गर्वको विषय हो। यो IPO परियोजनाले नेपालको केवल उत्पादन क्षमतालाई नयाँ उचाइमा पुर्‍याउनेछ र लगानीकर्ताहरूलाई सुनौलो अवसर प्रदान गर्नेछ।”

नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ। नेपाल सरकारले सन् २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। जलविद्युत् योजनाहरूको तीव्र विकाससँगै उच्च गुणस्तरको विद्युत् पूर्वाधारको माग पनि बढ्दो छ। सारथी केवल इन्डष्ट्रीजको भूमिगत केवल उत्पादनतर्फको यो पहलले नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सक्षम बनाउनेछ, जसले दीर्घकालीन विश्वसनीयता र दक्षता सुनिश्चित गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री