अब बैंक खातामा पैसा भए मात्रै शेयर किन्न पाउने
नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा बैंक खाता लिङ्क गर्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ। यो व्यवस्थाअनुसार लगानीकर्ताले आफ्नो बैंक खातामा पर्याप्त रकम भएमा मात्र दोस्रो बजारमा धितोपत्र (शेयर) खरिद गर्न सक्नेछन्।
मंगलबार नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि “धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमहरू” सार्वजनिक गरेको छ। उक्त नीति तथा कार्यक्रममा यो नयाँ व्यवस्था लागू गर्ने योजना उल्लेख गरिएको छ।
नीति तथा कार्यक्रममा भनिएको छ, “दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात् मात्र कारोबार हुने व्यवस्था कार्यान्वयनमा ल्याउन कार्य अगाडि बढाइनेछ।”
यो व्यवस्था लागू भएपछि हाल कायम रहेको ब्रोकर कम्पनीहरूबाट लगानीकर्ताले उधारोमा शेयर खरिद गर्ने प्रचलनमा परिवर्तन आउन सक्ने देखिन्छ। उक्त व्यवस्था कसरी र कहिले कार्यान्वयनमा आउँछ भन्ने कुराले कारोबारको प्रकृति निर्धारण गर्नेछ। यसले लगानीकर्ताहरूलाई थप पारदर्शिता र वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया