शुक्रबार, ७ वैशाख २०८१

बिमा रकम हात पार्न फिल्मी शैलीमा २१ वर्षिय युवकको हत्या, अढाई करोड बुझेपछि समातिइन् श्रीमती

समयपोष्ट २०७९ साउन १३ गते १९:५१

Advertisement

बिमा रकम हात पार्न योजनाबद्ध तरिकाले एक युवकको हत्या गरिएको पुष्टि भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो ।

विकको मृत्यु भएपछि दुर्घटनामा श्रीमानको मृत्यु भएको भन्दै सपना मल्लले २०७८ वैशाखमा रिलाइन्स लाइफ इन्सुरेन्स कम्पनीमा बीमा रकम भुक्तानीका लागि निवेदन दिइन् । मिनीबसको ठक्करले मृत्यु भएको कागजात पेश गरेपछि बीमा कम्पनीलाई रकम भुक्तानी गर्न कर लाग्यो ।

रिलायन्स लाइफ इन्सुरेन्सले चार महिनापछि अर्थात साउन १४ गते बीमा रकमबापतको २ करोड ४२ लाख रुपैयाँको चेक श्रीमती सपनाको नाममा दियो । सपनाले कामना विकास बैंक कोहलपुरमा रहेको आफ्नो खातामा उक्त चेक डिपोजिट गरिन् ।

बीमा भुक्तानीको प्रक्रियाकै क्रममा रिलायन्सले आशंका गर्ने केही तथ्य फेला पारे पनि भुक्तानी रोक्न सकेन । तर, अनुसन्धानको विषय भएको निष्कर्षमा पुग्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा निवेदन दियो । निवेदनसँगै रिलायन्सले केही डकुमेन्ट प्रस्तुत गरेको थियो ।

मृतक सर्जनले दुर्घटनामा ज्यान गुमाउनुभन्दा एक महिनाअघि अर्थात २०७७ फागुन २८ गतेमात्र बीमा गरेका थिए । उनले इच्छाएको व्यक्तिमा सपनाको नाम उल्लेख गरेका थिए ।

उता सर्जनलाई ठक्कर दिएर ज्यान लिएको आरोपमा मिनीबसका चालक टोपबहादुर राना क्षेत्रीविरुद्ध अदालतमा मुद्दा चलिरहेको थियो । जिल्ला अदालतले २०७८ माघ २५ गते टोपबहादुरलाई ३० दिन कैद र २ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

मृतक र सपना मल्लको विवाह

२०७७ चैत २ मा उनीहरूले विवाह दर्ता गराए । तर उनीहरुले त्यो कागजातको लागि मात्र गराएका थिए । डिपेन्डेन्ट भिसामा ‘अस्ट्रेलिया पठाउँछु’ भनेर सञ्जीव आर्यालले उनीहरूलाई विवाह दर्ता गराएको अनुसन्धानबाट थाहा भएको छ । विवाह दर्ता गरेपछि सपना काठमाडौँ आइन् ।

२०७७ फागुन २८ मा बीमा गर्दा इच्छाएको व्यक्तिमा सपना मल्लको नाम भरिएको थियो । बीमा गरेको ४ दिनपछि उनीहरूको विवाह दर्ता गरिएको थियो । तर, उनीहरू दुवैले एक–अर्कालाई चिन्थेनन् । २०७८ वैशाख २ मा दुर्घटनामा परेर सर्जनको मृत्यु भएपछि मृत्यु संस्कारमा २१ वर्षीय सपना सहभागी भइनन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार सर्जनको मृत्यु भएको कुरा सपनालाई सञ्जीव अर्यालले बताएका हुन् । सर्जन विकको मृत्युपछि बीमा रकम भुक्तानीको प्रक्रिया सञ्जीव अर्याल र दीपक केसीले गरे । काठमाडौँमा बीमा रकम भुक्तानी लिन सपनालाई दीपक केसीले लिएर आएको अनुसन्धानबाट थाहा भएको छ ।

एआईजी सुवेदीका अनुसार सर्जन र सपनालाई सञ्जीवले नै कामना विकास बैंकमा खाता खोल्न लगाएका थिए । खाता खोले पनि उनको हस्ताक्षर गर्न लगाएर सबै चेक आफुले लिएको पाइएको छ । खाता खोल्दा उपलब्ध गराएको फोन नम्बरको सिम पनि सञ्जीव आफै लिएर गएका थिए ।

प्रहरीका अनुसार सपना सर्जनको मृत्युबारे बेखबर थिइन् । सञ्जीव आफैले सपनालाई सुनाएका थिए । सर्जनको मृत्यु संस्कारमा सपना सहभागी नभएको पाइएपछि सञ्जीव नै यो मास्टरप्लानको योजनाकार भएको निष्कर्षमा पुग्न प्रहरीलाई गाह्रो भएन ।

सर्जनको दुर्घटना भएको भनिएको दिन सञ्जीवको मृतक, सपना, सरदार अहमद खाँ, मिनीबस चालक टोपबहादुर राना क्षेत्री सबैसँग सम्पर्क भएको प्राविधिक अनुसन्धानमा देखियो ।

सर्जनको बीमा गराई उनलाई दुर्घटनामा पारेर बीमा रकम झ्वाम पार्ने प्रपञ्च सञ्जीवले रचेको सीआइबीको निष्कर्ष छ । आफू विदेश जानेबाहेक अन्य घटनाक्रम र योजनाबारे सपनाले अनभिज्ञता प्रकट गरेकी छन् ।

तर, सपनाले बुझेको चेकबाट योजनाकारसहितका व्यक्तिका खातामा पैसा गएकाले अहिले नै केही भन्न नसकिने जनाइएको छ । विद्यार्थी भिसामा जापान जान लागेको अवस्थामा सपना केही दिनअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी हुन् ।

त्यसअघि नयाँ दिल्लीबाट जापान जान लागेकी उनलाई त्यहाँको अध्यागमनले काठमाडौं फर्काइदिएको थियो । प्रहरीले ३१ वर्षीय सञ्जीव, ३२ वर्षीय सरदार अहमद, ३३ वर्षीय टोपबहादुर, ३८ वर्षीय दीपक केसी र २१ वर्षीया ललिता सापकोटालाई पक्राउ गरेको छ ।

सीआईबीले कुन प्रलोभनमा पारेर सर्जनलाई सपनासँग नक्कली बिहे गराइदिएका थिए भन्ने खुलाएको छैन । ‘अहिले हामी प्रारम्भिक चरणमा छौं, विस्तृत अनुसन्धान अब हुन्छ’, एआईजी सुवेदीले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री